रविसँग पराजित उमेश श्रेष्ठ किन जाँदैछन् निर्वाचन आयोग ?

लोकपथ
364
Shares

काठमाडौं । चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभाका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठ निर्वाचन आयोग जादैँछन् ।

गत निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्चका फैसलापछि क्षेत्र उम्मेदवार विहिन बनेको छ । सो विषयमा आयोगको ध्यानाकर्षण गराउन आयोग जान लागेको श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

निर्वाचन अघि पनि लामिछानेको नागरिकताको विषयमा ७ वटा निवेदन परेकोमा आयोगले कुनै पनि चासो नदेखाएको उनको आरोप छ । आयोगले गम्भीर विषयमा चासो नदेखाउँदा निर्वाचित उम्मेवदारमाथि पनि अन्याय भएको उनको भनाइ छ ।

‘निर्वाचन अघि पनि सो विषयमा आयोगमा ७ वटा निवेदन परेको थियो । गम्भीर विषयमा आयोगले चासो नदेखाउँदा जित्ने उम्मेवारलाई पनि त अन्याय भयो ।’ उनले भने, ‘उपप्रधानमन्त्री भैसकेको मान्छे नागरिकताको विवादले पदबाट बाहिरिनुपरेको अवस्थामा भोलिको दिनमा पनि यस्तो नजिर नबसोस् भन्नका लागि हामी आयोग जान लागेका हौँ ।’

उनीसहित आज आयोगको ध्यानाकर्षण गराउन सो क्षेत्रबाट उम्मेदवार बनेका १५ जनाले सामूहिक रुपमा आयोगमा निवेदन दिने कार्यक्रम रहेको छ । उनीसहितको टोली बिहान ११ः ३० बजे आयोग जान लागेको हो ।

त्यस्तै आजै २ बजे सो विषयमा जानकारी गराउन पत्रकार सम्मेलन समेत गर्न लागेको श्रेष्ठले लोकपथलाई जानकारी दिए ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लामिछाने श्रेष्ठलाई ठूलो मतान्तरसहित निर्वाचित भएका थिए । तर उनको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसलापछि उनको नागरिकता खारेज भएसँगै उपप्रधानसहित गृहमन्त्री बनेका उनी सबैतिरबाट पदविहिन भएका छन् । उनले पुनः नागरिकता प्राप्त गरेपनि सो क्षेत्रमा पुनः उपनिर्वाचन गर्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?