आज वसन्त पञ्चमी, यसरी गर्नुहोस् सरस्वती पूजा

लोकपथ
98
Shares

आज माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमी पर्व, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइँदैछ । बसन्त पञ्चमी भनेर समेत चिनिने यो पर्व प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाउने गरिन्छ । सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जनविश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लागेको छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास रहिआएको छ ।

चन्द्रमाजस्तो गोरो वर्णकी, हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतीलाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार र विद्यार्थीले कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा गर्छन् भने तान्त्रिकहरू तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ ।

यसरी गर्नुहोस् पूजा

वसन्त पञ्चमीको दिन विधिविधानका साथ देवी सरस्वतीको पूजा गर्दा विद्या र बुद्धिका साथसाथै सफलता पनि पाइने विश्वास गरिन्छ । विहानै उठेर स्नान गरेपछि पवित्र आचरण र बोलीको संकल्प लिँदै माता सरस्वतीको पूजा गर्नुपर्छ । पूजामा चन्दन, अक्षता, सेतो र पहेंलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउँनुपर्छ ।

प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाउँनु पर्छ ।

त्यसपछि माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर दीप प्रज्वलन गर्दै आरती गर्नुपर्छ । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा पढाईमा मन लाग्छ । देवीको प्रतिमाअगाडि उभिएर मन्त्रहरु उच्चारण गर्दा स्मरण शक्ति बढ्छ ।

सरस्वती स्तुति

या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता ।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैस् सदा वन्दिता ।
सा मां पातु सरस्वती भगवती निस्शेषजाड्यापहा ।।१।।

शुक्लां ब्रह्मविचारसारपरमाद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीमभयदां जाड्यांधकारपहाम्।
हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।२।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?