काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रानामगरले नेपाली कांग्रेसकी सांसद मुक्ताकुमारी यादवलाई पराजित गर्दै विजयी भएकी हुन् ।
सांसद रानामगरले प्रतिनिधि सभामा खसेको २६४ मतमध्ये १६६ मत ल्याएर विजयी हुँदा यादवले भने जम्मा ९७ मात्रै मत पाइन् । तटस्थमा एक मत परेकाे छ । रानामगरलाई सात दलीय सत्तारुढ गठबन्धन र केही स्वतन्त्र सांसदको समर्थन थियो भने यादवलाई कांग्रेससहितका विपक्षी दलहरुको साथ रह्यो ।
यसअघि रास्वपाकी सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगरलाई उपसभामुख विजयी गराउन प्रस्ताव गरेकी थिइन् । यादवलाई उपसभामुख बनाउने प्रस्ताव भने कांग्रेस सांसद बद्री पाण्डेले सदनसमक्ष राखेका थिए । दुबै नेताको प्रस्तावामा विभिन्न दलका सांसदहरुले समर्थन जनाउँदै आफ्ना धारणा राखेका थिए ।
सत्तारुढ गठबन्धनकी साझा उमेदवार रानामगरलाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए । यादवका पक्षमा भने कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका सांसदले समर्थन जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया