गण्डकी । कुनै तस्बिर यस्ता हुन्छन् जसले मानिसलाई पुरानो समयतिर लैजान्छ । जारी पोखरा महोत्सव छिर्नेबित्तिकै दायाँपट्टि त्यस्तै तस्बिरको प्रदर्शनी कक्ष भेटिन्छ । भित्तामा लहरै झुण्डाइएका तस्बिरले उहिलेको पोखरासँग साक्षात्कार गराउँछ ।
शुक्रबार प्रर्दशनी कक्षमा पुगेकी अस्मि गुरुङका आँखा एउटा तस्बिरमा टक्क अडिए । किशोरावस्थाकी उनी केहीबेर त्यसमै रोकिए । जाङ्गे र कमिजमा खाली खुट्टा चौरमा उभिएका बालबालिकाको तस्बिरले गुरुङको ध्यान तान्यो ।
उबेलाको विद्यालय र बालबालिकाको अवस्था झल्काउने त्यो तस्बिरले मन छोएको उनले सुनाए । तस्बिर विसं २०१९ तिरको हो । खरको झुपडीबाट चलेको पोखराको अमरसिँह स्कुलको दृश्यलाई अमेरिकी नागरिक डगलस बिङ्गमले खिचेका थिए । प्रर्दशनीमा ७० वर्षअघिको तालबाराही मन्दिरदेखि पोखरामा पहिलोपटक बस आउँदासम्मका तस्बिर राखिएका छन् ।
उहिलेको पोखरा कस्तो थियो ? संस्कृति, रहनसहन के थिए ? मानिसहरु के गर्थे ? समाज कस्तो थियो ? तस्बिर आफै बोल्छन् । तस्बिरमा उबेलाको फेवा, बेगनास र रुपातालको स्वरुप हेर्दा जोकोहीलाई अनौठो प्रतित हुन्छ । विसं २०२६ मा पोखरा विमानस्थल बन्दा काममा खट्ने श्रमजीवी, विसं २०१९ तिर बाँसको पुलबाट सेती नदी तरिरहेका महिलाहरु, त्यसबेला पोखरामा चल्ने गोरुगाडा आदिका दृश्यले मनलाई उद्धेलित पार्छ ।
तस्बिरले आजको उन्नत, विकसित र झकिझकाउ पोखराभन्दा दशकौँअघिको पोखरातिर मानिसलाई पु¥याउँछ । पोखराकै सुनील उलकले संकलन गरेका तस्बिरलाई प्रर्दशनीमा राखिएको महोत्सव आयोजक यूनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । उनका अनुसार विदेशी र नेपालीले खिचेका तस्बिर प्रदर्शनीमा छन् ।
‘महोत्सवमा आउने दर्शकले तस्बिर प्रर्दशनीलाई पनि चाखपूर्वक अवलोकन गर्छन्, ऐतिहासिक तस्बिर राखिएकाले प्रदर्शनीले महत्व पाएको हो’, उनले भने । अवलोकनकर्ताले प्रदर्शनीमा राखिएका तस्बिरलाई क्यामेरा, मोबाइलमा कैद गर्न भने पाउँदैनन् । तस्बिर संकलक उलकले विदेशीसहित आफ्नो बुबा जगन्नाथले खिचेका तस्बिर प्रर्दशनीमा राखिएको बताए ।
जगन्नाथलाई पोखराको पहिलो फोटोग्राफरका रुपमासमेत चिनिन्छ । सन् १९६५ मा पहिलोपटक नेपाल आएका अमेरिकी नागरिक डग हलबाट उनले तस्बिर खिच्न सिकेका थिए । ‘अमेरिकी पिस कोर भोलिन्टियर’ का रुमा हल नेपाल आउनुभएको थियो । त्योबेला नेपालका धेरै ठाउँ पुगेर उनले तस्बिर खिचेका थिए ।
प्रदर्शनीमा राखिएकामध्ये विदेशीले खिचेका तस्बिर रङ्गीन छन् भने नेपालीका श्यामश्वेत । ‘आजभन्दा ६०/७० वर्षअघिको पोखराको समाज, भूगोल, संस्कृति र रीतिरिवाजको झल्को तस्बिरहरुमा छ’, उलकले भने, ‘यी तस्बिर हाम्रा अमूल्य पूँजी हुन्, इतिहासका साक्षी हुन्, यिनले भावी पुस्तालाई पुरानो नेपाल चिनाउँछन् ।’
प्रर्दशनीमा विख्यात भुभर्गविद् टोनी हेगनले खिचेको तस्बिरसमेत राखिएको छ । ‘उहिलेको पोखरा झल्काउने ३८ फोटो मात्र प्रदर्शनीमा छन्, धेरै तस्बिर अमेरिकी पिस कोर भोलिन्टियरले खिचेका छन्, केही तस्बिर मेरो बुबाका पनि छन्, उलकले भने । उलकसँग पोखरासँग सम्बन्धित दस हजार तस्बिर सङ्ग्रहित छन् ।
शुक्रबारदेखि काठमाडौंस्थित सैनिक मुख्यालयमा चलिरहेको तस्बिर प्रदर्शनीमा पनि आफूले संकलन गरेका सैनिकसँग सम्बन्धित तस्बिर राखिएको उनको भनाइ छ । गत पुस २७ गतेदेखि सुरु भएको एघारौँ संस्करणको पोखरा महोत्सव आउँदो सोमबार सकिँदैछ । महोत्सवमा कृषि, औद्यागिक उत्पादन, सूचना प्रविधिका सामग्रीको प्रदर्शन र बिक्रीकक्ष पनि राखिएको छ ।
रमाइलो बाल उद्यान, कलाकारको साङ्गीतिक प्रस्तुति, लोकनृत्य, हाँस्यव्यङ्ग्य प्रहसन, घोडा सवारलगायतले मेलामा आकर्षण बढाएको छ ।
महोत्सवको आम्दानीलाई सेती नदीको संरक्षण, पर्यटन प्रवर्द्धन र न्यून आय भएका परिवारका बालबालिकालाई लक्ष्य गरी आवासीय छात्राबास निर्माणमा लगाइने आयोजकले जनाएको छ । महोत्वमा बिक्री हुने प्रत्येक टिकटबाट रु एक सेती नदी संरक्षणका नाममा छुट्याइने क्लबका अध्यक्ष श्रेष्ठले बताए ।
महोत्सवमा दुई सय ५८ व्यावसायिक कक्ष छन् । तेह्र दिनसम्म चल्ने महोत्सवलाई दुई लाख बढी दर्शकले अवलोकन गर्ने आकलन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया