काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले इन्दिरा रानामगरलाई उपसभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा शुक्रबार बसेको संसदीय दलको बैठकले रानामगरलाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
रास्वपाको समानुपातिकतर्फ निर्वाचित रानामगरलाई उपसभामुखको उम्मेदवार बन्ने भएसँगै उनलाई सत्ता गठबन्धनकोसमेत साथ रहेकाले निर्वाचित हुने सम्भावना बलियो देखिएको छ । सत्ता गठबन्धनबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको थियो । उनलाई रास्वपाले आदिवासी महिला तर्फबाट प्रतिनिधि सभामा समानुपातिक सांसद बनाएको थियो ।
यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको उपसभामुखको उम्मेदवार बन्ने चर्चा भएपनि दलको बैठकले अन्तिम समयमा आएर राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
५२ वर्षीय राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् । २०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन् ।
उपसभामुखको आज मनोनयनको कार्यतालिका छ भने भोलिलाई मतदान तोकिएको छ । यसअघि बिहीबार भएको सभामुखको निर्वाचनमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे विजयी भइसकेका छन् । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया