शुक्लाफाँटामा शीतभण्डार निर्माण हुने

लोकपथ
0
Shares

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शीतभण्डार गृह निर्माण हुने भएको छ ।

यसका लागि नगरपालिकाले रु २५ लाख रकम विनियोजन गरेको छ । वसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पठाउने सहमति भएको छ । वडा नं ११ मा आइतबार बसेको सर्वपक्षीय बैठकमा सामुदायिक वनका उपभोक्ताले सो सहमति जनाएका हुन । वडाध्यक्ष शेरबहादुर साउदले सर्वपक्षीय बैठकले शीतभण्डार गृह निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङकन गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको बताए ।

यसपछि वडाका जनप्रतिनिधि, सामुदायिक वनका पदाधिकारी र प्राविधिकको टोलीले शीतभण्डार गृह निर्माणका लागि स्थानीय छनोट गर्ने उनले जानकारी दिए । छलफल कार्यक्रममा सामुदायिक वनका अध्यक्ष रनसिंह सुनारले वनलाई हानिनोक्सानी नहुने गरी शीतभण्डार निर्माणका लागि जग्गा उपलब्ध गराउन सकिने बताए ।

“वन संरक्षणकर्मी भएकाले म आफैँले सामुदायिक वनमा जग्गा उपलब्ध गराउन सक्दैन, गराउछु पनि भन्न सक्दिन”, उनले भने, “उपभोक्ताले सहमति दिएका छन्, त्यसका लागि सम्बन्धित निकायमा पहल गर्नुपर्छ ।” सामुदायिक वनका पूर्वअध्यक्ष धनबहादुर बमले हानिनोक्सानी नहुने गरी उपयुक्त ठाउमा शीतभण्डार निर्माण गरिनुपर्ने बताए ।

राजनीतिककर्मी भक्तराज जोशीले सबैले एकबद्ध भएर वडामा आएको योजनालाई कार्यान्वयन गर्नतर्फ लाग्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?