चितवन । चितवनको ढुङ्ग्रे खोलामा तटबन्ध निर्माण थालिएको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको सहयोगमा खैरहनी नगरपालिकाको ढुङ्ग्रे खोलामा तटबन्धको काम सुरु भएको हो । दूतावासका महावाणिज्यदूत नितेशकुमार र खैरहनी नगरपालिकाका नगर प्रमुख शशिकुमार खनियाँले संयुक्तरुपमा बुधबार तटबन्धनको शिलान्यास गरे ।
सो अवसरमा महावाणिज्यदूत कुमारले भारत र नेपालको सांस्कृतिक, व्यापारिक र आर्थिकसँगै पारिवारिक सम्बन्ध रहेको भन्दै त्यसलाई अगाडि बढाउन एकापसमा सहकार्य गर्दै आएको बताए । भारतले चितवनमा नौवटा योजनाका लागि लगानी गरिसकेको उल्लेख गर्दै उनले खैरहनीमा यो लगानी दोस्रो भएको जानकारी दिए ।
उनले तटबन्धका लागि समय धेरै बाँकी नरहेको भन्दै तीव्र गतिमा काम गर्न आग्रह गरे । नगर प्रमुख खनियाँले नगरपालिकाले तटबन्धको कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । समयमै काम सम्पन्न गर्न नगरपालिका प्रतिबद्ध रहेको उनको भनाइ थियो । खैरहनी नगरपालिका–७ र १० को सीमा भएर बग्ने सो खोलामा रु चार करोड पाँच लाख ९८ हजारको लागतमा तटबन्ध निर्माण सुरु भएको हो ।
वैशाखमा सुरु हुनुपर्ने सो काम स्थानीय तह निर्वाचन तथा मंसिरमा भएको सङ्घ र प्रदेशको निर्वाचनका कारण ढिला भएको खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए । पन्ध्र महिनाभित्र सम्पन्न गर्ने गरी गत वैशाखमा ठेक्का सम्झौता भएको थियो ।
कूल बजेटमध्ये ७५ प्रतिशत दूतावास तथा २५ प्रतिशत नगरपालिकाको छ । नगरपालिकाका इन्जिनियर सुमन श्रेष्ठकाअनुसार सुल्तनास्थित ढुङ्ग्रे खोलामा रहेको पुलभन्दा पश्चिततर्फ दुई सय मिटर तथा पुलभन्दा माथि पूर्वपट्टि एक हजार नौ सय २० मिटर तटबन्ध निर्माण गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया