काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेर सरकारले देशलाई फेरि हिंसाको बाटोमा लैजान खोजको आरोप लगाएको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अघिल्लो सरकारले शान्तिपूर्ण राजनीतिमा ल्याएको विप्लव समूहलाई वर्तमान सरकारले पक्राउ पुर्जी जारी गरि शान्ति खलबलाउन खोजेको आरोप लगाए ।
विप्लव समूह, सिके राउत समूह लगायतलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिको बाटोमा ल्याएको तर वर्तमान सरकारले त्यसलाई उल्ट्याउन खोजेको समेत उनको आरोप रहेको छ ।
उनले संसदमा सम्बोधन गर्दै भनेका छन्, ‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ । सञ्चारमाध्यमबाट आएंको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गरेर उहाँहरुको हिंसाको बाटो परित्याग गरेर शान्तिपूर्ण बाटोमा हामीले ल्याएंका छौँ । त्यसबेला त्यो तीन बुँदे सहमतिले नेपाली जनतामा लामो समयदेखि हिंसाको अन्त्य भयो र त्यसैगरी तराईको सिके राउत समूहलाई पनि नेपालको राष्ट्रिय राजनीतिको मुलधारमा ल्याइसकेपछि अब हिंसाको बाटो रोज्ने कुनै समूह छैनन् नेपालमा । अब शान्तिका साथ नेपालमा बाच्न पाइन्छ भनेर नेपाली जनताले अनुभुती गरिरहेका बेला फेरि यो सरकार स्वभाविक संविधानत् सरकार भनेको अभिछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो सरकारले गरेका कामहरुलाई यो सरकारले निरन्तर अघि बढाउनुपर्नेमा फेरि अनेक विभिन्न बहानामा विप्लव समूहलाई पत्र काट्ने र उनीहरुलाई फेरि त्यहि बाटो रोज्नका लागि उद्धत गराउन लागेको हो भने म प्रमुख प्रतिपक्षी दलको हैसियतले यो कामबाट सरकार तत्काल पछि हट्न र त्यो पत्र तत्काल फिर्ता लिन अनुरोध गर्दछु । उहाँहरुले राजनीतिक दल दर्ता गरेर अब हामी प्रतिस्पर्धाको र शान्तिपूर्ण बाटोबाट राजनीति गर्छौँ भनेर त्यो बाटो रोज्नुभएको छ, त्यसमा प्रोत्साहन गर्नका लागि पनि सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’
सोमबार जिल्ला अदालत ललितपुरले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव, सो पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायत शीर्ष नेताहरुलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया