स्कारपिओ छाडेर मोटरसाइकलमा कार्यालय जान्छन् नगर प्रमुख थापा

लोकपथ
624
Shares

अर्घाखाँची । सोमबार साँझ करिब साढे ७ बजेको थियो । भूमिकास्थान नगरपालिका–४ मकैडाँडामा एक व्यक्ति रेनकोट लगाउँदै गरेका बेला भेटिए ।

बाटोमा बाइक रोकेर रेनकोट लगाउँदै गरेका ती व्यक्ति अरु कोही नभएर भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापा थिए । नगर कार्यालयबाट अफिसियल कामले सन्धिखर्क पुगेका थापा घर फर्कंदै गर्दा मकैडाँडामा पानी परेपछि निथ्रुक्क भिजेका हुन् ।

भूमिकास्थान नगरपालिका–४ घर भएका थापा मोटरसाइकलमा दैनिक ३२ किमी यात्रा गर्छन् । आफ्नै नीजि मोटरसाइकलमा यात्रा गरिरहेका मेयर थापाले आफ्नै मोटरसाइकलमा यात्रा गर्नुको बेग्लै आनन्द भएको बताए । ‘म मोटरसाइकलमा यात्रा गरेको देखेपछि साथीहरूले आश्चर्य मान्दै मेयरसाब गाडी छैन र भन्नुहुन्छ,’ उनले भने, ‘यही मोटरसाइकल देखाउँदै यो घोडा जस्तो मान्नु भो र भन्ने गरेको छु ।’

मेयर थापाले आफू निर्वाचित भइसकेपछि नगरपालिकाले भाडामा प्रयोग गरिरहेको एउटा स्कारपिओ फिर्ता गरिसकेका छन् । ‘नगरपालिकासँगग दुईवटा आफ्नै गाडी छन् वर्षौदेखी अर्को भाडाको गाडी पनि प्रयोग भइरहेको रहेछ,’ मेयर थापाले भने, ‘हामी आएपछि त्यो गाडीको नवीकरण गरेनौं, १ साउनदेखि त्यो गाडी फिर्ता भइसक्यो ।’

थापाले आफूले सस्तो लोकप्रियताका लागि मोटरसाइकल नचढेको बताए । ‘म न त लोकप्रियता कमाउन मोटरसाइकल चढेको हुँ, न त सरकारी गाडी बहिष्कार नै गरेको हुँ,’ मेयर थापाले भने, ‘विशेष परिस्थितिमा नगरका गाडीहरू पनि प्रयोग गरिन्छ । तर मसँग आफ्नै साधन छ, मोटरसाइकलले काम चलेसम्म गाडी चढ्दिँन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?