कांग्रेसका नेताले गरे जाजरकोट पहिरोमा परी मृत्यु हुनेका परिवारलाई आर्थिक सहयोग

जाजरकोट । नेपाली काङ्ग्रेसका नेता रत्नबहादुर खड्काले एक साताअघि ठाँटीबजारमा गएको पहिरोमा पुरिएर ज्यान गुमाएका परिवारलाई नगद सहयोग गरेका छन् ।

उहाँले हरेक मृतकका परिवारलाई रु ३० हजारका दरले उनीहरुको अस्थायी आश्रय ठाँटीबजारस्थित वृद्धाश्रममा पुगेर सहयोग रकम प्रदान गरेका हुन् ।

खड्काले उपलब्ध गराएको सहयोग रकम प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत र खड्काले संयक्तरुपमा पीडित परिवारलाई हस्तान्तरण गरे । पहिरोमा परी मृत्यु भएका भेरी नगरपालिका– ६ गंगटियाका लालबहादुर लुहारकी श्रीमती सीतला लुहार, छोरी भगवती, रञ्जना र मनिषाका लागि प्रतिमृतक रु ३० हजारका दरले रु एक लाख २० हजार, कुशे गाउँपालिका–५ खुर्पा घर भई नलगाड नगरपालिका– ३ करुवाका गोविन्द परियार र दशरथ परियारका लागि उनीहरुको दिदी सुरिता परियारलाई रु ६० हजार, कुशे गाउँपालिका–६ भार्माका नवीन परियारका लागि उनका बुबा कृष्ण परियालाई रु ३० हजार तथा सोही गाउँपालिका–५ नाउलीखेतका नरेन्द्र परियारका लागि उहाँका बुबा प्रेम परियारलाई रु ३० हजार गरी नौ जना पीडित परिवारलाई खड्काले रु दुई लाख ७० हजार नगद सहयोग गरेका हुन् ।

मृतकका परिवारलाई यसअघि केन्द्र सरकारले रु एक लाखका दरले, प्रदेश सरकारले रु २५ हजारका दरले र भेरी नगरपालिकाले रु ३० हजारका दरले राहत रकम सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?