महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल-भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । 

भारत र खाडीमुलुक गएर हराएका प्रदेश ५, ७ र कर्णाली प्रदेश अन्तर्गत विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले नेपालगञ्जस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनका चाँङले यसको चित्रण गरेको हो । 

क्षेत्रीय कार्यालय माइती नेपालमा आफन्तको खोजीका लागि निवेदन दिनेको संख्या विगत १६ वर्षको अवधिमा करीब पाँच हजार पुगेको उल्लेख छ । विगत ६ महिनाको अवधिमा ३ सय भन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् । 

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार भारत र खाडी मुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौन शोषण भएको पाइएको छ । 
‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारको भएकाले अवैधरुपमा कामका लागि विदेशिने महिलाका मुख्य समस्या गरिबी नै हुनसक्ने संयोजक कोइरालाको भनाइ छ ।' 

केही दिनअघि मात्र दिल्ली पुर्‍याएर  बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्दार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन महिलाको उद्धार दिल्लीबाटै भएको थियो । 

कामको प्रलोभनमा अवैधरुपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमलुक र केही भारतमा हराएका जानकारी दिँदै संयोजक कोइराला विगतका वर्षभन्दा यसवर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्या समेत बढेको बताइएको छ । 

राम्रो तथा सुरक्षित काम दिलाइ दिने प्रलोभनमा पारी महिलालाई अवैध रुपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँ-गाउँमा सक्रिय रहेको उनको  भनाइ छ ।

माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई जिल्लाको नेपाल-भारत सीमा नाकाबाट फिर्ता समेत पठाउँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?