स्थानीयमा भन्दा प्रदेश र संघमा गठबन्धन सफल हुन्छ : उपाध्यक्ष राई

लोकपथ
392
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) कि उपाध्यक्ष जयन्ती राईले कम स्थानीय तहमा निर्वाचन जित्‍ने अवस्था भए पनि राजनीतिक लडाइँ भने जितेको बताएकी छिन् ।

नेकपा एमालेलाई लक्षित गर्दै उनले निर्वाचनमार्फत प्रतिगामी प्रवृत्तिको दललाई ‘साइज’मा ल्याउन सकिएको बताइन् ।

‘हामीले जुन प्रवृत्तिविरुद्धको लडाइँ लडेका थियौँ । निर्वाचन परिणामले त लडाइँ जितेको देखाइदियो । तर, पूर्ण सफल होइन । साइजमा चाहिँ ल्याउने काम भयो’, न्युज कारखानासँग भनेकी छिन् ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भने नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट धोका पाएको आरोप लगाउँदै आएका छन् ।

सोमबार मदन आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले तालमेलबारे समीक्षा आवश्यक रहेको समेत बताएका थिए । तर, उनकै पार्टी उपाध्यक्ष राईले भने तालमेल सफल नै भएको बताइकी हुन् । प्रदेश र सङ्‍घीय निर्वाचनमा भने तालमेल अझ सफल हुने उपाध्यक्ष राईले बताइन् ।

‘स्थानीय तहमा पो मतदाताले नातागोता हेर्छन् । प्रदेश र सङ्‍घमा त्यस्तो हुँदैन’, उनले भनिन्, ‘बढी तालमेल सफल हुने स्थानीयमा भन्दा पनि प्रदेश र सङ्‌‍घमा हुन्छ ।’

तालमेल सफल भएको दाबी गरिए पनि गठबन्धनलाई नै तोडेर धेरै ठाउँमा एमाले उम्मेदवारहरू विजयी भएका छन् । यद्यपि, पहिलेको तुलनामा एमालेले करिब ९५ स्थानीय तह भने गुमाउनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?