नयाँ बसपार्क रुटमा साना टेम्पो र माइक्रो हटाएर ठूला बस मात्रै सञ्चालन हुने

काठमाडौं । नयाँ बसपार्क रुटमा साना टेम्पो र माइक्रो हटाएर ठूला बस मात्रै सञ्चालन हुने भएका छन् ।

यही साउन २३ गते बुधवारदेखि सञ्चालनमा आउने उक्त बसहरु नयाँ बसपार्कबाट गोंगबु हुँदै लैनचौर, रत्नपार्क, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वरदेखि सिनामंगलसम्मको रुटमा चल्ने छन् ।

बसहरु असारमै आइपुगेको भए तापनि विभिन्न प्रक्रिया पूरा गर्न समय लागेकाले आगामी साताको बुधवारदेखि मात्र सञ्चालनमा ल्याइने कुरा दिगो सार्वजनिक यातायात प्रालिका सचिव लालप्रसाद गुरागाईले बताए ।

सो रुटमा अहिले टेम्पो र माइक्रो गरी जम्मा ६६ वटा सार्वजनिक सवारी साधन सञ्चालनमा छन् । सामाखुशी यातायात र सफा टेम्पो परिवहनसंग सम्झौता गरेर उक्त सवारी साधनहरुलाई नजिकैको अन्य रुटमा स्थानान्तरण गर्ने बारेमा गुरागाईंले थप जानकारी दिए ।

यातायात व्यवस्था विभागले क्रमश अन्य रुटमा पनि यस्तो ’मास ट्रान्सपोर्टेसन’ व्यवस्था कार्यान्वयन गर्ने योजना बनाएको छ ।
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?