टेकनाथ दहाल
लक्ष्मीप्रसाद देवकोटाले महाकाव्य देख्दा ‘नेपाली महाकाव्य आइसल्यान्डको सर्पजस्तै थियो’ । उनले भगिरथ प्रयास गरेर महाकाव्यको रचना गरे । उनीपछि लेखनाथ पौड्याल र बालकृष्ण सम देखापरे । त्यसपछि भने महाकाव्यकारहरूको ओइरो नै लाग्यो । त्यसो त महाकाव्य साहित्यको सर्वाधिक पुरानो विधा हो र लेखनका दृष्टिले पनि सर्वाधिकै कठिन विधा पनि हो ।
मानव भावनाको प्रथम प्रस्फुटन नै महाकाव्यको बिज हो र अनेकौँ पुस्ताको साझा अभिव्यक्तिका रूपमा महाकाव्यलाई लिने गरिएको छ । रामायाण, महाभारत, इलियट, ओडेसी जस्ता विश्वप्रसिद्ध महाकाव्यहरू यस्तै पुस्तौँ पुस्ताका साझा भावना र अनुभूति हुन् ।
महाकाव्य लेखिएपछि त्यसको सिद्धान्त तयार भयो । पूर्वमा भामहले महाकाव्यबारे पहिलो स्पष्ट धारणा राखेका थिए भने पश्चिममा एरिस्टोटलले । उनीहरूको महाकाव्यसम्बन्धी धारणा आएपछि महाकाव्य कृत्रिमताभित्र प्रवेश गर्यो ।
आज महाकाव्यको पाठक पाउन मुस्किल छ । अब महाकाव्य कृत्रिम मात्रै रहेन आम पाठकको रुचिबाट पनि टाढिएको छ । गद्यपरक विधाले महाकाव्यको हुर्मत नै लिएको छ । तर पनि महाकाव्य लेख्ने कविहरूको हुटहुटी भने जीवन्त छ । विश्रान्त महाकाव्य त्यस्तै हुटहुटीको पछिल्लो उदाहरण हो ।
कवि रूपक अलङ्कारद्वारा लेखिएको विश्रान्त महाकाव्यको सार्वजनिक कार्यक्रममा म पनि गएको थिएँ । प्रज्ञाको एउटा हलमा कार्यक्रम भएको थियो । बोल्ने वक्तामध्ये कुनैले महाकाव्य पढेर गएका थिए कुनै चाहिँ नपढीकनै वक्ताका रूपमा उपस्थित भएका देखिन्थे । तर कार्यक्रम निकै रोचक भएको थियो । रूपक अलङ्कार सहकर्मी मात्रै होइनन् प्रिय कवि पनि हुन् ।
उनको लेखनीलाई त्यसै पनि पढ्ने उखरमाउलो चढेर आउँछ । हरेक पटक केही न केही नयाँ लेख्न खोज्ने उनको उत्सुकताले पनि मलाई बारम्बार आकर्षित पार्छ । त्यसैले मैले फुर्सदमा विश्रान्त पढेँ । विश्रान्तमा नेपाली समाजको विगतको विद्रुपता चित्रित छ । एउटा तुहिएको संघर्ष र युद्धमा होमिएका पात्रहरूको दुःखद वैचारिक अवसान नै विश्रान्तको मुख्य विषयवस्तु हो ।
जीवनका विरोधाभासलाई व्यवस्थापन गर्न नसकेर वैराग्यले छोपेको र जीवनको कठोर विद्रुपता सहेर जीर्ण बनेको पात्रलाई कविले प्रथम सर्गमा भेटेका छन् । रातको समयमा बास बस्न आएको त्यस पात्रको रहस्य अन्तिममा कविप्रौढोक्तिमार्फत यसरी व्यक्त भएको छ–
न क्रान्ति वैरी न थिए सुराकी । न राज्यको निम्ति पिता हुलाकी ।।
गिँडे मुढाझैँ अभियोग लाई । कठै ! मलाई टुहुरो बनाई ।।
उही गिरीको म अभाग छोरो । अझै छु बेहोस छिनेर डोरो ।।
अगाडि नै देख्दछु पितृहन्ता । ऊ पो दुःखी लाग्छ हरे मभन्दा ।।
–विश्रान्त १३/६८–६९
विश्रान्तको कथानक पूरै वृत्ताकारीय ढाँचामा छ । प्रथम सर्गमा भेट भएको साधुबारे कविले सोधेपछि आफ्नो अतीततिर फर्किएको छ साधु । उसले सबै कहानी विस्तारमा भनेको छ । निकै हठी र अविचलित केटोले आफ्नो बाल्यावस्थादेखि सम्पूर्ण जीवनको इतिवृत्त भनिसक्दा महाकाव्य पनि टुङ्गिएको छ ।
उसको सुदूर अतीत आशालाग्दो भए पनि पछिपछिको जीवन सन्तोषजनक छैन । पहिलो सर्गकै अन्त्यतिर २०४५ सालको भूकम्पको सन्दर्भ वर्णित हुनुले कवि रूपक अलङ्कारको उमेरसँग मिल्न खोजेजस्तो पनि देखिन्छ । काठमाडांै पढ्न गएपछि साधुभित्र एकाएक विद्रोही चेतको विकास हुन पुग्छ–
विद्रोहको चाह थियो चढेको । स्वतन्त्रता निम्ति थिएँ लडेको ।।
हो, जोसको वायु थियो पवित्र । विवेक या ज्ञान कमी मभित्र ।।
–विश्रान्त २/१५
ज्ञानको आयतन बढाएपछि साधु गाउँ फर्किएर कृषिकर्ममा लाग्दछ र प्रभासँग विवाह गर्दछ । घरपरिवारले मनाही गर्दागर्दै पनि सशस्त्र युद्धमा होमिएको मान्छे केही समयमै चेतनासँगको प्रेममा फस्दछ र चेतनालाई गर्भिणी बनाउँछ । पार्टीमा कुरा पुगेपछि तुफान डराउँछ ।
त्यसपछि ऊ आत्मग्लानिको भूमरीमा रुमलिन्छ । राज्यलाई शत्रु देख्ने तुफान (विद्रोह अवस्थाको नाम) आफैँभित्रको अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्न सक्दैन । सशस्त्र पक्षधर शान्तिप्रक्रियामा आइसकेपछि चेतना र तुफान दुवै संसद बनेर सहर पस्छन् र एकाएक उच्च महत्त्वाकाङ्क्षाका पछि लाग्छन् ।
अन्ततः चेतनासँग पनि उसको सम्बन्धले निरन्तरता पाउँदैन । अन्त्यमा प्रभा पनि सायद मृत्युवरण गर्छे र ऊ साधु भेषमा घुम्न थाल्दछ । यसरी एउटा विद्रोही मानसिकता बोकेको पूर्वलडाकुको सबै आदर्श र निष्ठाको अवसान हुन्छ ।
छैटौँ सर्गमा चेतनाको पृष्ठभूमि वर्णित छ । तथाकथित दलित परिवारकी चेतना बाध्यताले संघर्षमा लाग्दछे । जवानी चल्ने पानी नचल्ने समाजमा चेतनाले धेरै यातना भोगेकी छ । चेतना सहयोगी छे ।
युद्धमा घाइते भएको तुफानलाई सय दिनसम्म एकान्तमा उपचार र हेरचाह गरेर बसेकी छे चेतना । त्यहीँ उनीहरूको प्रेम हुर्किएको छ । तर तुफान आफ्नै प्रेमप्रति पनि अभ्यस्त छैन । त्यसका निम्ति चेतना आफैँ अग्रसर भएकी छ पार्टीको बैठकमा र पनि तुफान कारबाहीमा परेको छ । चेतनामा मूल्य विघठनको स्थिति खासै नदेखिए पनि तुफानमा त्यो स्थिति पर्याप्त देखिन्छ ।
नेताको भाषणले तुफान पनि उत्तेजित हुन्छ । आजको नेपाली समाजको सबैभन्दा समस्या नै खराब नेताका भाषणले उत्तेजित हुने कार्यकर्ता हुन् । जुन दिन राम्रो र नराम्रो छुट्याउने सामथ्र्य प्राप्त हुन्छ त्यस दिनबाट मूल्यको राजनीतिले पनि प्रवेश पाउँछ ।
युद्धकै दौरान तुफानकी आमा मरेकी छ मातृवियोगको उदासीलाई चेतनाले हल्का गरिदिएकी छ । दुःखको बेलाको सान्त्वनाले अन्ततः प्रेम पैदा गर्छ । चेतना र तुफानमा पनि त्यस्तै भएको छ ।
गाउँको सामान्य किसानको छोरो विविध कारणले पढ्न छोडेर राजनीतिको पासोमा फस्दछ । पढ्नका लागि काठमाडौँ छिरेको युवक आन्दोलनतिर आकर्षित हुन्छ । विगत साँढे तीन दशकको विद्रुप राजनीतिले अन्ततः युवकलाई सशस्त्र संघर्षमा घचेट्दछ । समाज परिवर्तनको बडो क्रान्तिकारी विचार बोकेर हिँडेको ‘तुफान’ प्रेम र जिम्मेवारीको युद्धमा नराम्रोसँग हार्दछ । अन्ततः जीवनको लक्ष्यसँग पनि हार्दछ र अन्तिममा जोगी बनेर हिँड्दछ ।
यसले हिजोको सशस्त्र संघर्षका विद्रुपतालाई चित्रण गर्दछ । व्यवस्था परिवर्तन हुनु नौलो होइन । त्यो त एकाध आन्दोलनले सम्भव हुन्छ भन्ने कुरा हाम्रै इतिहासले पनि पुष्टि गरिसकेको छ ।
आम सर्वसाधारणको जीवनमा आउने परिवर्तन नै साँचो अर्थमा परिवर्तन हो । जीवन धान्न नसकेर रुँदै एयरपोर्टबाट बाहिरिएको एउटा युवालाई संघीयता, समावेशिता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता शब्दले खिल्ली उडाएजस्तो लाग्छ । राजनीतिमा देखिएको मूल्यको यो स्खलनलाई विश्रान्तमा निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
तेह्र सर्गमा विभाजित महाकाव्यले पूर्वीय आचार्यहरूको महाकाव्यसम्बन्धी मान्यतालाई आत्मसात् गरेको छ । आचार्य विश्वनाथ ‘सर्गा अष्टाधिका इह’ भन्छन् अनि विश्रान्तमा तेह्र सर्ग हुनु महाकाव्योचित अभिलक्षण रहेको मान्नु पर्दछ । विश्रान्तमा धीरोदात्त नायकको अभाव छ । अन्तरद्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर वैचारिकीबाटै पलायन भएको तुफान जेठी श्रीमती र छोराका सन्दर्भमा पनि अनिर्णित देखिन्छ ।
शान्त रसलाई अङ्गी रस बनाएको महाकाव्यमा श्रृङ्गार, वीर, भयानक र करुण रस निकै सघनरूपमा व्यक्त भएको छ । वृत्त परिवर्तनसम्बन्धी पूर्वीय आचार्यहरूको मान्यतालाई पनि विश्रान्तले आत्मसात गरेको छ । चौध प्रकारका शास्त्रीय वर्णमात्रिक छन्दको प्रयोग गरिएको विश्रान्त महाकाव्यमा प्रत्येक सर्गको अन्त्य मालिनी छन्दद्वारा गरिएको छ ।
प्रत्येक सर्गको अन्तिम पद्यले महाकाव्यको कथानकलाई पूर्वसर्गको सन्दर्भसँग जोडेको छ । यसले ‘सर्गान्ते भावी सर्गस्य..’ भन्ने विश्वनाथीय आदर्शलाई सम्बोधन गर्न खोजेको देखिन्छ । नाटकको पञ्चसन्धि महाकाव्यमा पनि छ ।
विश्रान्तको नायक कुनै उच्च कुलीन परिवारको नभएर गाउँमा प्रवेशिका उत्तीर्ण गरेर काठमाडौँमा गई स्नातकसम्मको अध्ययन गर्न सक्नेस्तरको चरित्र मात्रै भएकाले उसको आर्थिक पाटो त्यति कमजोर र सबल पनि देखिँदैन । विगतको सशस्त्र संघर्षमा लागेको तुफान दुई पटकसम्म युद्धमा घाइते हुन्छ ।
दोस्रोपटक घाइते हुँदा चेतनासँगको प्रेममा पग्लिन पुग्दछ । चेतनाको पेटमा बच्चा हुर्कन थालेपछि आफ्नै प्रेमको द्विविधामा फसेको तुफान अन्ततः आफ्नै आदर्शबाट विचलित हुन्छ र दुःखान्ततिर अघि बढ्दछ । नायक नायिका मर्नु मात्रै दुःखान्त होइन बरु नायक/नायिकाले आफ्ना आदर्श र मान्यतालाई तिलाञ्जली दिनु पनि दुःखान्त हो । विश्रान्त महाकाव्य दुःखान्त छ ।
विश्रान्त महाकाव्य मूलतः विगत तीन दशकको नेपाली समाजको एउटा तितो यथार्थ हो । मूल्य विघठनका हिसाबले यो कालखण्ड सर्वाधिक आलोच्य छ । राज्यसत्ताको वागडोर सम्हालेका राजनीतिक चरित्रहरूले देखाएको क्रियाकलाप निश्चय पनि सुखद छैन ।
परिवारवाद, सत्तास्वार्थ र आदर्शको अवसान नै आजको राजनीतिको देखिने पाटो हो । यसले समाजलाई विस्तारै अधोगतितिर डो¥याइरहेको आभाष गर्न थालिएको छ । नेपालको इतिहासको एउटा विद्रुप पक्षलाई महाकाव्यले विषयवस्तु बनाएकाले कथानकस्रोतको सन्दर्भमा विश्वनाथीय मान्यताबाट धेरै टाढा देखिँदैन ।
खलनिन्दा तथा सत्प्रशंसा पनि महाकाव्यमा देख्न सकिन्छ । प्रकृतिको वर्णनमा पनि विश्रान्त महाकाव्य अब्बल छ । प्रथम सर्गमै नेपालको वर्णन निकै रोचक ढङ्गले भएको छ र त्यसअघि मङ्गलाचरण पनि गरिएको छ ।
नायकसम्बन्धी महाकाव्यीय मान्यतालाई बालकृष्ण समले ‘चिसो चुल्हो’ मै तोडिसकेका थिए भने केही आदर्शहरू तरुण तपसीमा पनि भत्किएको छ । नरसिंह अवतारमा आइपुग्दा सबै पूर्वीय आदर्शहरू भत्किएका छन् । तब विश्रान्तमा त्यसको रङ देखिनु कुनै नौलो होइन, तैपनि पूर्वीय आचार्यहरूको महाकाव्यीय मान्यताबाट विश्रान्त धेरै टाढा छैन ।
महाकाव्य निकै परिमार्जित र स्तरीय छ । छन्दले भावलाई निमोठेको छैन । शब्दहरूको प्रयोगमा निकै सहजता छ यद्यपि कतैकतै छन्दभङ्गको स्थिति पनि देख्न सकिन्छ । वर्णविन्यासगत त्रुटि छपाइ प्रक्रियाका प्राविधिक कुरा हुन् त्यसैले जति राम्रो बनाउँछु भन्दा पनि चिप्लिन्छन् । विश्रान्त पनि त्यो समस्याबाट मुक्त छैन । इति ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया