भारतका अश्विन सुडानीको कीर्तिमानी तोड्ने योजनामा अनन्त, व्यक्ति र संस्थाले गरे सहयोगको घोषणा

काठमाडौं । सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका छन्, प्रखर वक्ता अनन्तराम केसी ।

केसीको सहयोगार्थ राजधानीमा आयोजित अन्तरक्रियामा सहभागीहरुले केसीको तयारीलाई मूर्त रुप दिन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताए । केसीको अभियान राष्ट्रिय प्रतिष्ठासँग जोडिएको भन्दै उनीहरुले सक्दो सहयोगको वचनवद्धता समेत जनाए । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले केसीलाई अग्रीम शुभकामना दिँदै उनको अभियानलाई राजनीतिक आग्रह–पूर्वाग्रहले हेर्न नहुने बताउनुभयो । प्रदेश सभासद् जीवन डंगोलले केसीको अभियानलाई सिंगो राज्यले नै सहयोग गर्नुपर्ने बताए । 

डंगोलले व्यक्तिगत तर्फबाट आर्थिक सहयोगको घोषणा समेत गरे । पूर्व सभासद् तथा नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले केसीको अभियानका लागि नेपाली कांग्रेस नुवाकोटको तर्फबाट ५१ हजार १ सय ५१ रुपैया सहयोगको घोषणा गरे ।

त्यस्तै नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानिँयाले केसीलाई सबै खाले सहयोग गर्ने वचन दिए । 

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले केसीको अभियानमा नेविसंघको साथ रहेको बताए । मूल आयोजक समितिका संयोजक समेत रहेका न्यू माइण्डस् एकेडेमीका अध्यक्ष तथा लायन्स क्लबका पूर्व गर्भनर कुमारराज सुवेदीले केसीलाई सहयोग गर्ने हातहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै साथ सहयोगको लागि आग्रह गरे । 

आर्थिक सहयोग संकलन समितिका संयोजक रविन थपलियाको संयोजकत्वमा भएको कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि आर्थिक सहयोगको घोषणा गरेका थिए ।

केसीको विश्व  कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताएका छन् ।

उनले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिएका छन् ।

केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी कीर्तिमान बनाए पनि प्राविधिक त्रुटिका कारण  त्यसलाई प्रमाणीकरण गरिएको थिएन । अहिले भारतका  अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?