सांसद गंगा चौधरीले डा. केसीलाई ‘हत्यारा’ को आरोप लगाएपछि सभामुखले भने, ‘बोल्न दिनुस्’

काठमाडौं । आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि छलफलका क्रममा नेकपाकी सांसद गंगा चौधरीले डा. गोविन्द केसीलाई ‘हत्यारा’ को आरोप लगाएकी छिन् ।

डाक्टर गोविन्द केसीले अनशन बसेर गोविन्द केसीले काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाउने भनेपछि सरकारले गरीबका छोराछोरीले मेडिकल शिक्षा पढ्न नपाएको आरोप पनि उनले लगाइन् ।

‘दाङ देउखुरी लमरही नगरपालिका वडा नम्बर १ का हेपाटाइटिसका बिरामी गोविन्द चौधरीको टिचिङ अस्पतालले भर्ना नलिँदा ज्यान गएको छ, यो उदाहरण मात्र हो’, सांसद चौधरीले आक्रोश पोख्दै भनिन्, ‘यसको जिम्मेवारी कसले लिने? नेपाली कांग्रेसले लिन्छ कि डाक्टर केसीले लिन्छ?’

‘डाक्टर केसी हत्यारा हुन्, हत्यारालाई कारबाही गर्ने कि नगर्ने?’, उनले आरोप लगाइन् ।

संसदमा उनले नयाँ मेडिकल कलेज खोल्न नपाउँदा गरीबका छोराछोरीले झाडु लगाउनुपरेको भन्दै आक्रोश पोखेकी थिइन् । साथै उनले देश संघीयतामा गइसकेकाले मेडिकल कलेज कसले खोल्ने भन्ने सन्दर्भमा केन्द्र सरकारले हस्तक्षेप गर्न नमिल्ने पनि बताइन् ।

संसदमा आक्रोश पोख्दै गरेकी सांसद चौधरीलाई अर्की सांसद डिला संग्रौलाले उठेर आपत्ति जनाउन खोजेकी थिइन् ।

सभामुखले उनलाई रोक्दै ‘बोल्न दिनुस्’ भनेका थिए । त्यसपछि उनले थप आक्रोश पोख्दै प्रमुख प्रतिपक्षी पार्टी काङ्ग्रेस र गोविन्द केसीप्रति आक्रोश पोखेकी थिइन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?