ओली सरकारले फुटायो मन्त्रालय, अब केन्द्रमा २२ मन्त्रालय

काठमाडौं– केपी ओली नेतृत्वको सरकारले भागबण्डा मिलाउन मन्त्रालय टुक्र्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रमा प्रम कार्यालयसहित २२ मन्त्रालय रहने गरी निर्णय गरेको छ ।
सरकारको निर्णयअनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाइएको छ । मन्त्रालय फुटेसँगै अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय हुने सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ ।

बैठकले प्रेस काउन्सिल नेपाललाई मिडिया काउन्सिल बनाउने तयारी गरेको छ । त्यसका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री बास्कोटाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?