तनहुँ सेती जलविद्युत् आयोजनाको ठेकेदार छनोट

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक तनहुँ जलविद्युत् कम्पनीको मुख्य संरचना निर्माणका लागि निर्माण व्यवसायीको छनोट गरिएको छ । 

कूल १४० मेगावाट क्षमताको सो आयोजनाका लागि कम्पनीले आज निर्माण व्यवसायी छनोट गरेको हो । 

आयोजनाको नदी फर्काउने, बाँधलगायतका संरचना निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने इटालियन कम्पनी सिएमसी छनोट भएको छ । 

सोही कम्पनीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । सो कम्पनीसँग २० अर्ब ६४ करोड ५२ लाखमा खरिद सम्झौता हुनेछ ।

आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजका लागि सबैभन्दा कम बोलकबोल गर्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेड छनोट भएको छ । 
उक्त कम्पनीसँग रु तीन अर्ब ८३ करोड १४ लाखमा खरिद सम्झौता हुनेछ । 

तनहुँ हाइड्रोपावर लिमिटेडले गत साउन ७ गते बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि आउन पत्राचार गरेको छ ।


 
दुवै कम्पनीले साउन ८ गते पत्र बुझिसकेका छन् । पत्र बुझेको २८ दिनभित्र कम्पनीले कार्यसम्पादन जमानतसहित खरिद सम्झौताका लागि उपस्थित हुनुपर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध–सञ्चालक प्रदीपकुमार थिकेले बताए। 

खरिद सम्झौता भएको दुई महिनापछि निर्माण शुरु गर्ने र सम्पूर्ण निर्माण डिसेम्बर २०२३ भित्र सक्ने लक्ष्य राखिएको थिकेले बताए । तनहुँ हाइड्रोपावर लिमिटेडले २०७३ माघ १९ मा पहिलो र दोस्रो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका कम्पनीलाई बोलपत्र प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।
 
पहिलो प्याकेज निर्माणका लागि पूर्वयोग्यतामा छनोट भएका पाँच कम्पनीमध्ये तीनवटाले र दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएका तीन वटा कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए । 

आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौली–भरतपुर २२० केभीको क्षमताको प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि २८ असारमा बोलपत्र आह्वान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ । 

आयोजनाको कूल लागत अमेरिकी डलर ५० करोड ५० लाख ‘प्रशारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत’ रहेको छ । 

यसमध्ये एसियाली विकास बैंक ‘एडिबी’ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ‘जाइका’ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक ग्
‘इआइबी’ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । 

यसका लागि सम्बन्धित दातृ निकाय र सरकारबीच ऋण सम्झौता तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौता सम्पन्न भइसकेको छ । 
नेपालमा नै पहिलो पटक अर्धजलाशययुक्त आयोजनाका रुपमा तनहुँ सेती जलविद्युत् आयोजनालाई लिइन्छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?