नख्खु कारागार कब्जाको योजना विफल !

काठमाडौं । नख्खु जेलका कैदी भक्तबहादुर सुनारको हत्या अर्का कैदी अभिशेषराज सिंहले गरेको तथ्य सार्वजनिक भएको छ ।

बर्दिया ठाकुरद्धाराका ३२ वर्षीय सुनारको विषदीको प्रयोग गरी हत्या भएको हो । 

कैदी सुनारको गत बैशाखको २२ गते उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

उनको हत्यासंगै जेल नै कब्जा गर्ने योजनामा रहेका सिंहको योजना विफल भएको छ । 

उनको हत्यामा सोही कारागारमा सजाय भुक्तान गरिरहेका बाँके बागेश्वरीका ४० वर्षीय अभिशेषराज सिंहको संलग्नता देखिएको छ ।

सुर्खेत, भक्तपुर, रुपन्देही र जनपुरमा भएको श्रृङ्खलाबद्ध हत्या घटनाका योजनाकार सिंह छ जनाको हत्या मुद्धामा जेल सजाय भुक्तान गरिरहेका छन् । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का अनुसार, हत्यारा सिंहले नख्खु कारागार प्रशासन, आन्तरिक प्रशासन, कारागार ब्यवस्थापन र चौकीदारलाई बदनामी गराई कारागारमा आफ्नो वर्चस्व स्थापित गर्न सहयोगी कैदी सुनारको रहस्मयढंगले हत्या गरेको बताइएको छ । 

अस्पताल परिसरमा मृतक सुनारको खल्तीबाट प्रहरी र उनका दाजुले गृहमन्त्रीलाई सम्बोधन गरी लेखिएको एकपत्र फेला पारेका थिए । सो पत्रमा कारागारभित्रको विकृति, कैदीहरुमाथि हुने यातना र पिडाका घटनाहरु उल्लेख गरिएको थियो । 

सिआइवी प्रवक्ता प्रहरी कृष्णहरि शर्माले भने– यो सम्पूर्ण नाटक सिंहले नै रहेछ । आयुर्वेद औष्ािध उत्पादन सम्वन्धी जानकार सिंहले नै कारागार ब्यवस्थापनको बदनाम गराउन सुनारलाई विष खुवाएर हत्या गरेको अनुसन्धानबाट देखिएको छ । 

शारीरिक रुपमा तन्दुरुस्त सुनारलाई एकदिन अघिमात्र वाक–वाक आउने र रिङ्टा लाग्ने समस्या देखिएपछि उपचारका लागि बीर अस्पताल पु¥याइएको थियो । बीरमा आइसियु खाली नभएपछि पाटन पु¥याएको हो ।

निरन्तर वान्ता चलेको २४ घण्टा नवित्दै सुनारको मृत्यु भएको थियो ।

 सुनारको हत्यापछि कारागार ब्यवस्थापन लगायत नख्खु जेलर र कर्मचारी बदनामी भएसंगै सरकारले सबैजनाको तत्काल सरुवा तथा जेलका चौकीदार अर्कै जेलमा सरुवा हुनेमा सिंह पूर्ण विश्वष्त थिए । ब्यूरोका प्रवक्ता रहेका शर्माले भन्नुभयो–तर सत्य लुकाएर पनि लुकेन । 

सिंहले सुनारको हत्या गर्न डाका मुद्धामा जेल सजाय भुक्तान गरि छुटेका दोलखा बैतेश्वरका ३० वर्षीय ध्रुवकृष्ण शर्मालाई परिचालन गरेका थिए ।

कारागारभित्र खानेकुरामा विष विसाउने कार्यमा बलात्कार मुद्धामा २० वर्ष जेल सजाय भुक्तान गरिरहेका सप्तरी बैरवाका मनोज चौरसियालाई प्रयोग गरेका थिए । 

ध्रुर्वकृष्णले नै सिंहले भने अनुसारको आयुवेर्दिक औषधि वजारबाट खरिद गरी कारागारको गेटसम्म पु¥याएका थिए ।

गेटबाट मनोजले बुझेर सिंहलाई दिन्थे ।

प्रहरीले सिंहको साथबाट ठूलो मात्रामा आयुर्वेद तथा अन्य औषधिहरु बरामद गरेको छ । 

‘सिरियल किलर’ का रुपमा परिचित सिंहले सुनारलाई विष सेवन गराउनु अगाडि ध्रुबकृष्ण मार्फत गृहमन्त्रीलाई सम्वोधन गरी चिठी लेख्न लगाइ ललितपुरको एक साइवरबाट स्क्यान गरी तीन दिनअघि गृहमन्त्रालयमा मेल गरेको तथ्य फेला परेको छ ।

जुन चिठीको सक्कली कपि सुनारको साथबाट तीनदिनपछि मात्र बरामद भएको थियो ।

नख्खु कारागारलाई कैद सजायको अखडा बनाउदै आएका सिंहका गतिविधिमाथि शंका लागेपछि उनलाई डिल्लीवजार, मकवानपुरको भीमफेदी, रुपन्देही लगायतका कारागारमा पटक–पटक स्थान्तरण गरेको थियो ।

तर, उनी भने सोर्सफोर्स लगायर नख्खुमा नै आउने गरेको जानकारी प्रहरीले दिएको छ ।  

नख्खु कारागारबाट बारम्वार लखेटिएपछि पछिल्लो पटक सबैलाई बदनामी गराउने रणनीतिका साथ सिंहले सुनारको हत्या गरेका हुन् ।

उक्त घटनाको छानविन गर्न सरकारले कारागार ब्यवस्थापन विभागका निर्देशक कृष्णप्रसाद अधिकारीको संयोजकत्वमा पाँचसदस्यीय छानविन समिति गठन गरेको थियो ।

 सो समितिले दिएको प्रतिवेदन र नख्खु कारागारको अनुसन्धानमा जुटेको ब्यूरो प्रहरीले सुनारको हत्या सिंहबाट भएको तथ्य वाहिर ल्याएको हो ।

जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा सजाय भुक्तान गरिरहेका मृतक सुनार त्यसअघि जेलभित्र सिंहको सहयोगी भनेर काम गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?