कुटपिटबाट दुई जनाको हत्या

मलेखु । दुई जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३१ जनालाई पक्राउ गरेको छ ।

उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–२ लतावबाट प्रहरीले ३१ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेको छ ।

 घटनामा संलग्न भएको आरोपमा प्रहरी टोलीले घटनास्थल पुगेर २७ पुरुष र चार महिलालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । 

गाउँवासीको कुटपिटबाट दुई जनाको हत्या भएपछि शव गाउँमै जलाइएको र गाउँपालिका उपाध्यक्षसमेतलाई समेत गाउँमा जान नदिइएको कुरा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए । 

घटनामा गङ्गाजमुना गाउँपालिका– २ लतावका ६५ वर्षीय साहिँला तामाङ र ५४ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो । 

उनीहरुलाई गाउँमा मृत्यु भएका केही व्यक्ति आफूले मन्त्र गरेर मारेको, गाईवस्तुलाई समेत मन्त्र गर्ने गरेको र झाँक्री मन्त्रबाट मानिसलाई बच्चा पाउने नपाउने समेत बनाउन सक्ने भन्दै गाउँवासीलाई तर्साएपछि सिंहबहादुर तामाङका घरमा किरिया समापनको कार्यक्रम हुँदै गर्दा कुटपिट गरिएको थियो ।

गत असार ५ गते कुटपिट गरी गाउँमै बाँधेर राखिएका दुवै जनालाई गाउँवासीले असार ६ गते गाउँवासीसँग छलफल आयोजना गरी पुनः कुटपिट गरेका थिए ।

घटनापछि दुवैको मृत्यु भएको र मृत्युपछि गाउँवासी मिलेर गाउँमा अन्य गाउँको मानिस आउन प्रतिबन्ध लगाई मृतकलाई डाँडामा लगेर जलाएका थिए ।

जलाइएको ठाउँमा प्रहरीले अनुसन्धान गर्दा अँगार र केही हाड बरामद गरेको छ ।

साहिँला झाँक्री काम गर्दै आएका व्यक्ति थिए भने नरुङ उनका सहयोगी थिए । 

 हिरासतमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालयले बयान लिएको छ ।

घटनामा छानबिनपछि संलग्न नभएकालाई छाडिने प्रहरी नायब उपरीक्षक  केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?