८० वर्षीया आमाकाे अादेशपछि गोविन्द केसीले गराए रगत परीक्षण

काठमाडौं।सत्याग्रहको २३औं दिन ८० वर्षीया आमा मित्रकुमारी केसी छोरा डा. गोविन्द केसीको अनुहार हेर्न शिक्षण अस्पताल पुगिन् । आमासँग आँखाको इसाराले भावुक संवाद भयो उनको । मित्रकुमारीले केसीका सहयोगी चिकित्सकलाई सोधिन्, ‘केही अप्ठ्यारो अवस्था छ ?’ सहयोगी डा. दिव्यासिंह शाहले ४५ मिनेटसम्म मित्रकुमारीलाई केसीको स्वास्थ्यबारे बताइन् । काठमाडौं फर्केदेखि रगत परीक्षणसमेत गर्न नमानेको सुनाइन् । मित्रकुमारीले छोरालाई आइतबार साँझ भनिन्, ‘रगत परीक्षण गराउनु, तिम्रो खाँचो छ देशलाई ।’  अाजकाे राजधानी दैनिकमा खबर छापिएकाे छ ।

आमाको आज्ञा पाएका डा. केसीले सत्याग्रहको २४औं दिन सोमबार रगत परीक्षण गराए । जुम्लाबाट काठमाडौं ल्याइएका दिनदेखि केसीले रगत परीक्षण गराउन मानेका थिएनन् । रगत परीक्षणपछि देखिएका विभिन्न समस्याबारे चिकित्सकहरू नै चकित भएका छन् । डा. शाहले भनिन्, ‘उहाँको अवस्था अत्यन्तै असामान्योमुख भएको छ ।’
रगतका सबै ‘प्यारामिटर’हरू असामान्य छन् । सेतो रक्तकोषिकाको संख्या अहिलेसम्मकै न्यून छ । यति कम सेतो रक्तकोषिका भएका बिरामीलाई कुनै संक्रमण भइहाले, त्यो भयावह हुने डा. शाहले बताइन् ।

डा. केसीलाई अनशन स्थलमा भेट्न आउनेलाई मास्क र ‘ह्यान्ड स्यानिटाइजर प्रयोग गराई १० मिटर पर राख्न थालिएको छ । ‘यसले केही हदसम्म संक्रमण रोक्न सक्छ तर अब सावधानी अपनाएन भने गम्भीर संक्रमण हुनेमा शंका छैन,’ डा. शाहले बताइन् ।
डा. केसीको रगतमा ग्लुकोजको मात्रा अहिलेसम्मकै न्यून छ । ‘रगतमा भएको ग्लुकोजको मात्राले नै शरीरका सबै अंगले काम गर्छन् । कम भएपछि शरीरका अंगले काम गर्न छाड्छन्,’ डा. शाहले थपिन्, ‘ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर ‘ब्रेन’मा देखिन्छ । स्नायुहरू शक्तिहीन बन्दै जान्छन् र बेहोस हुने, सिजर हुने अर्थात् छारे रोगका लक्षण पनि देखिन सक्छ ।’
सत्याग्रह आन्दोलनका क्रममा जुम्लामा रहेका बेला नै केसीको रगतमा पोटासियम, म्यागनेजियम र क्यालसियमको मात्रा कम थियो । विशेषतः पोटासियम एकदमै न्यून छ, जसको सिधा सम्बन्ध मुटुसँग हुन्छ ।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यही अवस्था रहिरहे डा. केसीको मुटु जुनसुकै बेला पनि बन्द हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?