सुर्खेतमा १३१ महिला बालबालिका फेला परेनन्

सुर्खेत । गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा आव २०७४-७५ महिला तथा बालबालिका हराउने दर बढेको बताएको छ । गत वर्ष बालक ७८, बालिका ४३ र महिला २०६ जना गरी जम्मा ३३७ जना महिला तथा बालबालिका हराएकामा बालक ४९, बालिका ३४ र महिला ११३ गरी १९६ जना फेला परेको र अझै १३१ महिला बालबालिका हराइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्याम चौधरीले बताए । 

“हराइरहेकामध्ये २९ बालक, नौ बालिका र ९३ महिला छन्, उनीहरुको खोजीकार्यमा प्रहरी लागिरहेको छ”, प्रहरी नायब निरीक्षक चौधरीले भने । यसरी महिला तथा बालबालिका हराउनुमा डिप्रेसन, लागू औषध दुव्र्यसनी, घरायसी झैझगडा, विवाह गरेर घर छोड्ने र मायाप्रीतिमा देखिने खटपट मुख्य कारण रहेको उनले बताए । 

सवारी कारवाहीबाट ८७ लाख ७३ हजार राजश्व संकलन 

यसैगरी जिल्ला प्रहरी कार्यालय सुर्खेतले सवारी कारवाहीबाट गतवर्ष रु ८७ लाख ७३ हजार राजश्व संकलन गरेको छ । 

आव २०७४-७५ मा सुर्खेत प्रहरीले १४ हजार ९९४ सवारी साधनलाई कारवाही गरेको थियो । ट्राफिक नियम उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सञ्चालन गर्ने, तोकिएको मापदण्डभन्दा बढी भार बहन गर्ने सवारी कारवाहीमा परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । यो अवस्था विगतको भन्दा अझ बढेको उनको भनाइ छ । 

त्यस्तै, ४९ सवारी दुर्घटना हुँदा ३५ जनाको मृत्यु, ६३ गम्भीर घाइते र ५२ सामान्य घाइते भएको उनले बताए । गएको वर्ष सामान्य दुर्घटना २९२ हुँदा १८७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?