किन झूट बोल्यो प्रहरीले ? प्रहरी घाइते प्रकरण शंकाको घेरामा

 काठमाडौँ – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले मृत्युको गलत सूचना फैलाएर भीड नियन्त्रण प्रयास गरेको तथ्य खुलेको छ । केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेको थियो । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

अस्पताल परिसरभित्र प्रहरीले गरेको माइकिङको अडियो र भिडियो सामाजिक सञ्जालहरूमा फैलिएको छ । जसमा डीएसपी तपनकुमार दाहालले माइकिङ गर्दै भनेका थिए, ‘हाम्रा एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । त्यसकारण हाम्रा प्रहरी पनि मरेको हुनाले, क्याजुअल्टी भएको हुनाले हामीले पनि संयमता अपनायौं धेरैबेरसम्म । तपाईंहरू कोही आन्दोलन गर्न आउनुभएको छ भने बस्नुस् ठीक छ त्यसमा ।’

प्रहरीले माइकिङमार्फत आफ्ना सहकर्मीको मृत्यु भएको भन्ने खबरलाई आधार मानेर सञ्चार माध्यमहरूले समाचार प्रसारण गरे । बिहीबार साँझ नै प्रहरी प्रधान कार्यालयले मृत्युको तथ्यबारे प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । प्रधान कार्यालयको विज्ञप्तिमा ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्नेजस्तो मानवीय संवेदनाको विषयमा सूचना दिनुअघि आधिकारिक पुष्टि गर्न’ अपिल गरिएको थियो ।

आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भीड नियन्त्रण गर्ने स्थिति किन निम्तियो ? जुम्लाका डीएसपीले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ?  प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ ।’

पूर्वडीआईजी नवराज ढकालका अनुसार प्रहरीले भीड नियन्त्रणका बेलामा होस् वा अन्य बेलामा गलत सूचना वा सन्देशको प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी कुरा हो । उनले भने, ‘भीड नियन्त्रण वा अन्य कुनै नाममा पनि प्रहरीले गलत सन्देश फैलाउनु हुँदैन ।’ पूर्वडीआईजी हेमन्त मल्लले भीड नियन्त्रणका बेला आफ्नै सहकर्मीको मृत्युको खबर दिनु त्रुटिपूर्ण भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?