काठमाडौं । स्वीजरल्याडका नागरिक ६६ वर्षीय पिटर क्रिष्टन ल्याकजेण्डर एक १६ वर्षीय किशोरमाथि यौन दुराचार गरेको अभियोगमा शुक्रवार भक्तपुरको सिद्धपोखरीबाट पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकबाट साथी बनाइ एक किशोरलाई ललाई फकाई आर्थिक प्रलोभनमा पारी बाल यौन दुराचार गरेको आरोप प्रहरीको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार, पर्यटनब्यवसाय तथा समाजसेवाका नाममा नेपालमा बसोवास गर्दै आएका पिटरले आफूले गरेको अपराध स्वीकारेका छन् ।
अपराध महाशाखाका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले यौनदुराचारमा संलग्न अभियुक्त पिटरले गल्ती स्वीकारेको जानकारी दिए ।
लाङटाङ एजुकेसन प्रोजेक्ट र ईडुकोर स्वीस नेपालका संस्थापक समेत रहेका पिटरको बौद्ध चुच्चेपाटीमा ट्रिगेर इन र भक्तपुर दरवार स्क्वाएरमा वेलकम हेरिटेज इन होटल सञ्चालनमा रहेका छन् ।
उनलाई जवरजस्ती करणी ऐन अन्तरगत मुद्दा दर्ता गरी आवश्यक कारवाहीको तयारी भइरहेको महाशाखाले जनाएको छ ।
जवरजस्ती करणी ऐन अन्तरगत अभियुक्त पिटरलाई छदेखि १० वर्षसम्म जेल सजाय हुन सक्ने कानुनी ब्यवस्था रहेको छ ।
अभियुक्त पिटरले वालकलाई आफ्नो सहयोगीको रुपमा परिचित गराई विभिन्न होटलमा राखेर यौन दुराचार गर्ने गरेको पाइएको छ ।
पिटरको उक्त अपराधका सम्वन्धमा उनकै होटलमा काम गर्ने कामदारले प्रहरीलाई सूचना चुहाएका थिए । प्रहरीले यसअघि पनि बाल सामाज सेवा र शिक्षासेवाका नाममा बालयौन दुराचार गर्ने आधा दर्जन विदेशी नागरिकलाई पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया