बर्दिवास । महोत्तरी जिल्लामा लागूऔषध दुर्व्यसनीको संख्या वर्षेनी बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७४-०७५ को तथ्यांक सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीले यो जानकारी दिएको हो । गत आव २०७४÷०७५ मा लागूऔषध दुर्व्यसनीसम्बन्धी ४५ मुद्दा दर्ता गरिएका छन् । यसअघि आव २०७३-०७४ र २०७२-२०७३ मा क्रमशः २५ र १७ वटा घटना दर्ता भएका थिए ।
पछिल्लो गत आव २०७४-०७५ मा दर्ता गरिएका मुद्दामध्ये छुट्टाछुट्टै केलाउँदा जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा सबैभन्दा बढी १४ घटना दर्ता भएका छन् । त्यसअघिका आव २०७३-०७४ र २०७२-०७३ मा पनि लागूऔषध दुर्व्यसनीसम्बन्धी घटना पनि बर्दिवास नगर क्षेत्रमै अन्य ठाउँभन्दा बढी रहेका जिप्रका महोत्तरीका प्रहरी उपरीक्षक कुवेरसिं कडायतले जानकारी दिए ।
जिल्लाको घटना अभिलेखअनुसार बर्दिवास नगर क्षेत्र अत्यन्त संवेदनशील मानिएको छ । लागूऔषध दुर्व्यसनी र कारोबारीले बर्दिवासलाई नै केन्द्र बनाएका पाइएको प्रहरी अधिकारीको भनाइ छ ।
दुर्व्यसनीले गाँजा र चरेश मकवानपुरतिरबाट र लागूऔषधका चक्की (गोटी), क्याप्सुल र सुई महोत्तरीको भारतीय सीमावर्ती कन्हमा र भिठ्ठामोरबाट लिने गरेका पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
भारतको बजार भिठ्ठामोर र कन्हमाबाट बर्दिवास र जनकपुरक्षेत्रका दुर्व्यसनीले लागूऔषध लिएर नेपाल फर्कने गरेका पाइएको प्रउ कडायत बताए । लागूऔषधको प्रयोग र कारोबारमा बर्दिवासपछि यी नाकाको प्रयोग गर्नेमा जनकपुर भेगका युवा र किशोर पाइएको प्रहरीले जनाएको छ ।
लागूऔषध दुर्व्यसनी र कारोबारमा १५ देखि ३० वर्ष उमेर समूहका युवा र किशोरको संख्या बढी देखिएको छ । गत आव २०७४÷०७५ मा पक्राउ परेका ४५ जनामध्ये ३५ जना १५ बर्षदेखि ३० बर्ष उमेर समूहका पाइएको प्रउ कडायतले बताए । यस अवधिमा बर्दिवासबाट २९ किलो गाँजा, एकहजार ५२० नाइट्राभेट चक्की, डाइजेपाम ९०, स्पास्मो २९७ र ब्रफिनोर्फिन १० वटा बरामद गरेको प्रहरीले जनाएको छ ।
बर्दिवास नगर क्षेत्रमा दुर्व्यसनीको जमघट बढ्दै गएको तथ्यांक नै आएपछि इलाका प्रहरी कार्यालय, बर्दिवासले खासखास अखाडा चिन्हित गरी सघन चेकजाँच गर्दै आएको छ । दुर्व्यसनीले यसअघिका जमघट हुने अखडा फेर्दै जाने गरेका पाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायब उपरीक्षक नकुल पोखरेल बताए ।
बर्दिवास नगर क्षेत्रमा प्रहरीले थालेको दुव्र्यसनी खोज अभियानमा विद्यालयमा पढिरहेका किशोर उमेरका विद्यार्थी र कूलीन गनिने परिवारका समेत किशोर र युवा संलग्न पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया