मुख्यमन्त्रीले भने–डा. केसीले राखेको माग कर्णाली सरकारसँग सम्बन्धित छैन

युवराज पंगाली ।
सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डाक्टर गोविन्द केसीले राखेका माग कर्णाली प्रदेश सरकारसँग सम्बन्धित नरहेको बताएका छन् ।

उनले केसीको लामो अनशनले स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताउँदै अब मन्त्रिपरिषद्बाटै निर्णय गरेर डा. केसीलाई काठमाडौं लैजान औपचारिक आग्रह गरिने जानकारी दिए ।

मुख्यमन्त्री शाहीले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आफूले डा. केसीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजान आग्रह गरेको बताए ।

यसैविच नेपाल चिकित्सक संघले मंगलबारदेखि कर्णाली प्रदेशमा इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका छ ।

संघका सुर्खेत अध्यक्ष डा. नवराज केसीले १९ दिनदेखि जुम्लामा अनशनरत डा. केसीका माग सम्बोधन गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिएको बताए ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले सरकारले तत्काल डा. केसीका माग पूरा गर्नुपर्ने बताए ।

उनले अनशन बसेको १९ दिन बित्दा पनि सरकार माग पूरा गर्न उदासिन हुनु अधिनायकवादको पराकाष्ठा भएको आरोप लगाए ।

यस्तै, कर्णाली प्रदेश सरकारले जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन बचाउन कर्णाली प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ ।

सामाजिक विकास मन्त्री दल रावलले डा. केसीको जीवन रक्षाका लागि संघीय सरकारलाई आह्वान गरिएको बताए ।

मन्त्री रावलले डा. केसीका माग संघीय सरकारसँग सम्वन्धित रहेको बताउँदै त्यसबारे आफूहरूले केही पनि निर्णय गर्न नमिल्ने प्रतिक्रिया दिए ।
डा. केसीले राखेका माग प्रदेश सरकारसँग सम्बन्धित नरहेकाले काठमाडौं लगेर उपचारका साथै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न प्रदेश सरकारले आग्रह गरेको उनले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?