कञ्चनपुर-कञ्चनपुर बेलडाँडी गाउँपालिका–३ बैवाहबाट नियन्त्रणमा लिएका नौ जना नेपाली आज साँझ मुक्त भएका छन् ।
सोमबार बैवाहका स्थानीय बासिन्दाका दुई जोडी राँगा भारतीयले चोरी गरेर लगेपछि नेपालीले पिछा गर्दै भारतीय क्षेत्रमा राँगा भेटाएपछि भारतीय मञ्जित सिंह, गुरुसेवक र सतनाथलाई कुटपिट गरेपछि उत्पन्न विवादले चर्को रुप लिएपछि ठूलो हुलमा आएका भारतीयले नेपाली बस्तीमा छिरेर नेपालीमाथि कुटपिट गर्दै १५ जनालाई नियन्त्रणमा लिई भारतको कम्पोजनगरतर्फ लगेका थिए ।
जसमध्ये छ जना भागेर नेपाल आउन सफल भए पनि अन्य नौ जनालाई भारतीयले कम्पोजनगरमा लगेर बन्धक बनाएको स्थानीयवासी विमल धामीले बताए ।
उनीहरुलाई भारततर्फ लगेको खबर पाइएपछि बेलडाँडी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रहरी लगायतको टोली कम्पोजनगर पुगेछि नेपालीहरु नियन्त्रण मुक्त भएका हुन् ।
मुक्त हुनेमा बैवाहका कालुराम चौधरी, भुवनप्रसाद चौधरी, चन्द्र चौधरी, बलराम चौधरी, रामु चौधरी, विष्णु चौधरी, मञ्जु चौधरी र सुरज चौधरी रहेका छन् ।
नेपालीले कुटपिट गरेका तीन जना भारतीयलाई औषधोपचार खर्चबापत भारतीय रु ३० हजार उपलब्ध गराएपछि नेपालीलाई छाडेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक सुरेन्द्रबहादुर बमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया