काठमाडौं । साढे ३३ केजी सुन र सनम शाक्य हत्या काण्डको छानविन गर्न गठित सुन अनुसन्धान समितिले सय दिन पूरा गरेको छ ।
गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले सय दिनसम्म जुटेका प्रमाणको आधारमा सुन तस्करीको मुख्य अभियुक्त भनिने चुडामणि उप्रेती गोरे समुह नै नेपालमा सुन तस्करीको ठूलो समूह भएको निष्कर्ष निकालेको छ । तस्करीका मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’को समूहले नै ५ वर्षको अवधिमा हवाई मार्गबाट मात्र ३८ सय किलो सुन तस्करी भएको समितिले निष्कर्ष निकालेको छ ।
यद्यपी समितिले तस्करीको ३३ किलो सुन कहाँ गयो भन्ने मुख्य प्रश्नको रहस्य भने सुल्झाएको छैन ।
सुरुमा ४५ दिन तोकिएको भए पनि सुन तस्करीको रहस्य थप खुल्दै गएपछि समितिको म्याद थपिएको थियो ।
समितिले दुबईबाट सुन पठाउनेदेखि नेपालमा सुन ‘रिसिभ’ गर्ने अनि सुनमा लगानी गर्ने भुजुङ गुरुङदेखि मोहन अग्रवालको पहिचान गरेको छ । त्यसैगरी सुन तस्करीलाई सघाएको आरोपमा नेपाल प्रहरीका एसएसपी, एसपी, डिएसपी तथा सनम शाक्य घटनालाई दबाउन खोजेको अभियोगमा तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख, डिएसपी र सईलाई पक्राउ गरी थुनामा राखिएको छ ।
समितिले ५ वर्षमा ३८ सय किलो सुन कसरी तस्करी हुने गरेको थियो भन्ने पनि बेलिविस्तार उतारेको छ । दुबईबाट सुन पठाउने गोरेका भाइ, सहयोगी, विमानस्थलमा सेटिङ गर्ने प्रहरी, विमान कम्पनीका कर्मचारी तथा बजारमा लैजाने भरियाको पनि समितिले पहिचान गरेको छ । सुन तस्करी र हुण्डीको एकअर्कामा सम्बन्धित भएको निष्कर्षमा पुगेको समितिले हुण्डी कारोबारमा एक दर्जनभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया