अन्योलमा जिल्ला जनस्वास्थ्य कार्यालय

युवराज पंगाली / सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले संघीय संरचनामा देश प्रवेश गरिसकेपछि आफ्नो जिम्मेवारीको बारेमा अन्यौल भएको जनाएको छ । 
संघीय प्रणालीअनुसार धेरै जिल्लाका सरकारी कार्यालयहरुको काम बाँडफाँड भएपनि जनस्वास्थ्य कार्यालयको बारेमा ठोस निर्णय केन्द्र सरकारले नगर्दा अन्यौलमा परेको हो । 

सरकारले असार मसान्तपछि जिल्लास्थित केही कार्यालय खारेज गर्ने भनेपनि अन्तिम निर्णय नपठाउँदा हाल कर्मचारीहरुले अन्यौलताकाबिच काम गर्नु परेको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख धिरजंग शाहले चालु आर्थिक वर्षभरी साविककै कार्यालयबाट काम गर्ने भनिएकाले आफूहरु अलमलमा परेको बताए । 

यसैबीच  जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गर्भ, प्रसव र सुत्केरी अवस्थामा हुने जटिलताका कारण सात जना महिलाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा तीन जना महिलाको मृत्यु भएको थियो । 

कार्यालयले सञ्चालन गर्दै आएको मातृमृत्यु तथा निगरानी र प्रतिकार्य कार्यक्रमअन्तर्गत समुदायस्तरमै रहेर गरिएको अध्ययनबाट यस्तो तथ्यांक फेला परेको हो । ति मध्ये तीन जनाको गर्भावस्थासम्बन्धी जटिलताका कारण मृत्यु भएको पब्लिक हेल्थ नर्श संगीता खड्काले जानकारी दिईन । 

कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा गत चैतसम्ममा कुष्टरोगका १८ जना नयाँ बिरामी फेला परेका छन् । 

त्यस्तै, ४ सय २७ जना टिभी, मलेरियाका ३५ र एचआईभी संक्रमित ३२ जना फेला परेको कार्यालयले जनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?