दरवारमार्गबाट टोलेगुण्डा विमल उर्फ सपन मगर पक्राउ

काठमाडौं । महानगरीय प्रहरीको ‘पक्राउ गर्ने’ सूचीमा रहेका टोलेगुण्डा विमल लुङ्गेली मगर उर्फ सपन मगर दरवारमार्गक्षेत्रबाट पक्राउ परेका छन् ।
उनलाई किङ्स गजल बार दरवारमार्गबाट पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त दरवारमार्गले जनाएको छ । रामेछाप घरभइ हाल राजधानी बस्दै आएका मगर टोले गुण्डा हुन । 
उनले दरवारमार्ग लगायत राजधानीका विभिन्न स्थानबाट चन्दा अशुल्ने, मदिरा सेवन गरि ग्याङ फाइट गर्ने र रेष्टरेण्टमा खाएको वील समेत नतिर्ने गरेको आरोप प्रहरीको छ । 
उनका विरुद्ध रेष्टुरेण्ट तथा होटलमा खाजा नास्ता खाएको वील नतिरी उल्टै होटल र रेष्टुरेण्ट सञ्चालकलाई ज्यान मार्ने धम्की दिएको उजुरी परेको प्रहरी बृत्त दरवारमार्गले जनाएको हो ।  
दरवारमार्ग प्रहरी बृत्तले यसअघि गुण्डाको सूचीमा रहेका काभ्रेका संजीव लामा भन्ने संजीव स्याललाई जवरजस्तीकरणीको अभियोगमा पक्राउ गरेको थियो । 
दरवारमार्गक्षेत्रमा गुण्डागर्दी गर्ने अझै आधा दर्जन गुण्डाहरु पक्राउको सूचीमा रहेका छन् । केही दिनअघि जवरजस्ती करणी मुद्धामा पक्राउ स्याल समूह र सपनको समूहबीच आलिशान रेष्टुरेण्टमा कुटाकुट भएको थियो । 
गृह मन्त्रालयले राजधानीमा सक्रिय टोलेदेखि खोले (बालुवा तस्कर) सम्मका गुण्डाहरुलाई पक्राउ गर्न कडा निर्देशन जारी गरेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?