‘भाइ लौ न चिनेको कोही भए भनिदिनुपर्यो, यत्रो पैसा खर्च गरेर बनाको भिडियो ५ हजार पनि गएन’, बिहानै फोन आयो । परिचित मान्छेको आवाज थियो । नेपाली संगीतमा केही हिट गीत दिएका गायक तथा संगीतकार हुन् उनी ।
चार लाखभन्दा बढी रूपैयाँ खर्चेर बनाएको भिडियोले २४ घण्टा बित्दा समेत ५ हजार भ्युज नपाएपछि लाज जोगाउनकै लागि फेक भ्युजका लागि पैसा खर्च गर्न तयार थिए उनी ।
यस्ता कथा र व्यथा जताततै भेटिन्छन् हाम्रो संगीत बजारमा । समग्र संगीत क्षेत्रमा लागेकाहरूको लागि टाउको दुखाइको विषय बनेको छ ।
नेपाली संगीत बजारमा दैनिकजसो गीत गीतहरू सार्वजनिक भइरहेका छन् । एकाधबाहेक अधिकांश गीतमा भ्युजको खडेरी लागेको छ । लाखौँ खर्चेर बनाएका गीतहरू दर्शकले नहेर्दा निर्माता तथा संगीतकर्मी यतिबेला चिन्तामा छन् ।
कम्तीमा पनि दुईदेखि १०–१५ लाखसम्म खर्च गरेर तयार पारेका गीतले एक लाख पनि दर्शक नपाउँदा एकातिर लाज जोगाउन र अर्कातिर आफू लोकप्रिय भएको भ्रम छर्न पनि फेक भ्युज किन्न बाध्य छन् कलाकार । केही गीतले रियल भ्युज पाएर आम्दानी पनि गरेका छन् । तर अधिकांशको कथा भने फरक छ ।
अनेकौँ चरण पार गर्दै अडियो तयार पार्यो । भिडियोको लागि भनेर पैसा जुटायो । बजारमा राम्रा भनिएका महँगा कलाकार राखेर पो गीत चल्छ कि भनेर कन्जुस्याइँ नगरी खर्च गरेर भिडियो बनायो । भ्युज आउँदैन ।
अनि प्रमोसन पुगेन भनेर टिकटकदेखि मिडियालाई गुहार्यो । बुस्ट गर्न पैसा खर्च गर्यो । केही सीप नलागेपछि सुरु हुन्छ फेक भ्युजको कथा । अब यत्रो त खर्च गरियो लाज नै जोगाउन भए पनि त गर्नै पर्यो भन्दै कलाकारदेखि डाइरेक्टर समेतको प्रेसर बढ्छ ।
ऋण गरेर भए पनि फेक भ्युज किनेर भन्न बाध्य छन्– भिडियो हेरेर माया गरिदिनुभएकोमा मेरा आदरणीय दर्शकश्रोतालाई धन्यवाद, अझै लाइक, कमेन्ट, सेयर र च्यानल सब्स्क्राइब गरिदिनुहोला ।
भ्युजदेखि लाइक, कमेन्ट र डिसलाइकसम्म फेक
अहिले चलेका भनिएका अधिकांश गीतहरूको भ्युज फेक हो भन्दा फरक पर्दैन । युट्युबमा गीत अपलोड गर्नेबित्तिकै आफ्नो गीतले राम्रो भ्युज पाएको भ्रम छर्न फेक भ्युज किन्न प्राय कलाकार र निर्माताहरू पछि पर्दैनन् ।
तर, यस्तो भ्युज, लाइक र कमेन्टले गीत र च्यानल दुवैलाई नकारात्मक असर गर्ने बताउँछन्, संगीतकार दिपक शर्मा ।
‘अरुलाई देखाउनकै लागि पैसा खर्च गरेर भ्युज मात्र नभएर लाइक र कमेन्ट समेत किन्ने प्रवृत्ति बढ्दो छ’, उनले भने ‘यसले आर्थिकरूपमा त छँदै छ गीत र च्यानललाई समेत नकारात्मक असर गर्छ ।’
फेक भ्युजका कारणले कतिपय राम्रा गीतलाई समेत बिगारिएको बताउँछन् उनी । उनको विचारमा यो दर्शक र आफैँलाई पनि भ्रम छर्नेबाहेक अरु केही पनि होइन ।
‘यो पटक्कै राम्रो होइन, धेरै भ्युज देखाएर गीत राम्रो र लोकप्रिय बन्ने हाइन, कानुनी रूपमा समेत फेक भ्युज गलत हो’, उनले भने, ‘फेक भ्युजकै कारण कतिपय राम्रा गीतहरू झन् बिग्रिएका छन् ।’
बढ्दो प्रतिस्पर्धा र छिटो करोड क्लबमा छिर्ने लालचले यस्तो प्रवृत्ति बढेको उनको बुझाइ छ ।
दर्शकश्रोता युट्युब र टिकटकका अन्य कन्टेनमा अल्झिँदा आफूले मिहिनेत गरेर बनाएको गीतलाई केही चर्चामा ल्याउन र अरु काम पाउनकै लागि पनि फेक भ्युज किन्न बाध्य हुनुपरेको बताउँछन् एक जना चलेका संगीतकार ।
‘अहिले बजार हल्लाको पछि लागेको छ, राम्रा सिर्जना हुँदाहुँदै पनि ठाउँमा पुर्याउन नसक्दा पछि परिएको छ’, उनले भने, ‘त्यसैले हल्लाकै लागि पनि फेक भ्युज किन्न बाध्य छौँ ।’
कति पर्छ फेक भ्युज किन्न ?
अहिले बजारमा एक लाख फेक भ्युज किन्नका लागि ४० हजार रूपैयाँ पर्छ । त्यसैगरी एउटा कमेन्टको तीनदेखि पाँच रूपैयाँ र एक रूपैयाँको दुईवटा लाइक किन्न पाइन्छ ।
यसरी हिसाब गर्दा एक लाख भ्युज र त्यसलाई ब्यालेन्सड गर्नेगरी कमेन्ट र लाइक किन्नुपर्दा ५० हजार लाग्छ । यहीअनुसार २० लाख भ्युज र लाइक कमेन्ट किन्नको लागि १० लाख रूपैयाँ तिर्नुपर्ने हुन्छ ।
यो भनेको दर्शक झक्याउनको लागि देखााइएको नाममात्रको भ्युज हो । आफ्नो गीत करोड क्लबमा छिराएर प्रचार गर्नका लागि फेक भ्युज र लाइक कमेन्टका लागि मात्र २० लाख रूपैयाँसम्म खर्च गरेको चर्चा छ, नेपाली संगीत बजारमा ।
चर्चाको भोक
नेपाली संगीत बजारको कुरा गर्नुपर्दा गीतको लोकप्रियताको मापदण्ड नै युट्युबमा पाएको भ्युज र टिकटकमा भएको चर्चालाई लिने गरिएको छ । यही चर्चा र लोकप्रियतको भोकले पनि कतिपय कलाकार फेक भ्युज, लाइक र कमेन्टका लागि पैसा खर्च गर्न डराउँदैनन् ।
तर युट्युबमा पाएको भ्युज र टिकटकको चर्चालाई नै लोकप्रियताको रूपमा लिन नहुने बताउँछन्, गीतकार तथा संगीतकार लेखु सहयात्री ।
‘युट्युबमा भ्युज त विभिन्न हर्कत र डबल मिनिङ भएका गीतहरूले धेरै पाएका छन् नि, के तिनीहरूलाई लोकप्रिय भन्ने त ?’, उनले भने, ‘गीत ट्रेन्डिङमा आएर चर्चा हुनु र गीत नै कर्णप्रिय भई सबैको मनमुटुमा बस्नु फरक कुरा हो ।’
उनको विचारमा फेक भ्युज भनेको केवल भ्रमको खेती हो, यो कला र कलाकारिताको लागि नै पनि घात हो । त्यो समय र खर्च बरु अर्को राम्रो सिर्जना गर्नतिर लगाउनुपर्ने बताउँछन् उनी ।
के पाइन्छ त फेक भ्युजमा ?
सिधा रूपमा वा देखिने गरी हुने फाइदा केही पनि छैन फेक भ्युजमा । यो कसैले भिडियो क्लिक गरेर वा हेरेर आउने होइन । यसको काम केवल अरुलाई भ्रम छर्नु मात्र हो । तर पनि धेरै पैसा यसमा खर्च भइरहेको छ ।
यसले केही समय अरुलाई भ्रम छरे पनि तत्काल र दीर्घकालीनरूपमा आफैँलाई घाटा हुने बताउँछन् संगीतकार तथा ‘द भ्वाइस अफ नेपाल’का म्युजिक डाइरेक्टर करणराज कार्की ।
‘यसरी कुनै पनि किसिमको फाइदा नहुने ठाउँमा लगानी गर्नुभन्दा अर्को गीत तयार गर्नु राम्रो हो’, उनले भने ।
अरुको लहलहैमा लागेर देखाउनको लागि गरिने यस्ता कामले अन्त्यमा पश्चात्तापबाहेक अरु केही पनि नमिल्ने उनले बताए ।
आफ्नो गीतमा भएको फेक भ्युजबारे स्वीकार नगरे पनि अरुलाई त्यही भ्युज देखाएर आफ्नो गीत बजारमा राम्रो चलेको भ्रम छर्नु उनीहरूको भित्री मनसाय देखिन्छ । कसैसँग नयाँ काम गर्नुपर्दा पनि आफ्ना अघिल्ला काम र त्यसको भ्युज हेरिने हुँदा त्यसका लागि पनि यो काम गर्न बाध्य भएको बताउँछन् संगीतकर्मीहरू ।
यसको दीर्घकालीन असर
सबैभन्दा पहिलो कुरा त गीत संगीत किन र केका लागि बनाउने भन्ने कुरा महत्वपूर्ण हुन्छ । धेरै मान्छे सिकेर नै आफ्नो सुन्दर भविष्य खोज्दै नेपाली संगीत बजारमा छिरेका छन् भने कतिपय लहलहै त कतिपय व्यवसाय नै गर्न भनेर आएका छन् ।
सबैको काम गीत संगीतको उत्पादन र प्रशारण भए पनि बाटो र गन्तव्य नै फरक छ । यसरी एउटै काम, एउटै ठाउँमा फरक बाटो र गन्तव्य भएकाहरू अटाउनुपर्दा नै समस्या सिर्जना भएको बताउँछन्, गायक प्रमोद प्रसाईँ ।
बजारको यस्तो ट्रेन्डले गीत संगीतलाई गलत बाटोमा लैजाने धारणा छ उनको । अरुसँग तुलना गरेर कम्पिटिसनको भावनाले बनाएका गीतमा आत्मापक्ष नै कमजोर हुने उनको बुझाइ छ ।
‘गीत भनेको शब्द, लय र संगीतको माध्यमबाट एउटा भाव प्रस्तुत गर्ने माध्यम हो, हामीले त्यो भावलाई कसरी हुन्छ गहिराइ दिने कोसिस गर्नुपर्छ’, उनले भने, ‘भ्युज र बजारको पछि दौडिन थाल्यो भने भाव छुट्छ, अन्त्यमा हार्ने भनेको सिंगो संगीत नै हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया