नक्कली पीसीआर रिपोर्ट बनाउने दुई ल्याबमा प्रहरीको छापा, ४ जना पक्राउ, सञ्चालक फरार

लोकपथ
420
Shares

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाउने कार्यमा संलग्न अस्पतालका कर्मचारी तथा बिचौलियाहरु गरी ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा घर भइ ललितपुर ग्वार्को बस्ने २५ वर्षीय रोसन कुमार छिट्टान, धनुषा घर भइ हाल गौशाला बस्ने २५ वर्षीय नगिन्द्र यादव, काभ्रे घर भइ भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय माधव मैनाली र सर्लाही घर भइ हाल भक्तपुर कौशलटार बस्ने २४ वर्षीय प्रसन्न कुमार झा रहेका छन् । पक्राउ परेका झा नागरिक हस्पिटलका ल्याब प्रबन्धक समेत हुन् । त्यसैगरी उक्त कार्यमा संलग्न रहेका नागरिक कम्युनिटी अस्पतालको पीसीआर ल्याब सञ्चालक ४० वर्षीय भावेश मिश्र र कान्तिपुर अस्पतालको पीसीआर ल्याब सञ्चालक ४० वर्षीय निर्मल गिरी भने फरार रहेका छन् ।

दुवै ल्याबले वैदेशिक रोजगारीमा जानेहरुलाई सरकारले तोकेको भन्दा बढी शुल्क लिई स्वाब लिने गरेको र त्यसको नक्कली रिपोर्ट बनाइदिने गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

दुवै ल्याबबाट नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको भन्ने विशेष सूचनाका आधारमा पुगेको टोलीले ठूलो संख्यामा नक्कली पीसीआर रिपोर्ट समेत बरामद गरेको छ ।

नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका कर्मचारी छिट्टानलाई ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्टसहित विमानस्थल अगाडीबाट पक्राउ गरेको महाशाखाले जनाएको छ । त्यसैगरी कान्तिपुर अस्पतालको कर्मचारी परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ गरेको हो । त्यस्तै कान्तिपुर अस्पतालको ल्याबबाट सोही ल्याबका कर्मचारी माधव मैनालीसहित ४ वटा नक्कली पीसीआर रिपोर्टहरु समेत बरामद गरिएको महाशाखाले जनाएको छ ।

त्यसैगरी दुवै ल्याबाट कम्युटर इन्ट्री र पीसीआर परीक्षण गर्दाको रजिस्टरहरु समेत नियन्त्रणमा लिइएको र फरार दुवै ल्याबका सञ्चालकहरुको खोजी कार्य भइरहेको प्रहरीको भनाइ रहेको छ ।

दुवै ल्याबले कतिपय व्यक्तिको पीसीआर परीक्षण नै नगरी नक्कली रिपोर्ट दिने गरेको र विशेषज्ञहरुले रिपोर्ट नै नहेरी डिजिटल सिग्नेचन गर्ने गरेको खुल्न आएको छ । उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?