चट्याङले टावरमा क्षति, एक हप्तादेखि सञ्चारविहीन

लोकपथ
49
Shares

बैतडी । चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन् । गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो ।

नेपाल टेलिकमको टावरले काम नगर्दा स्थानीयवासीलाई सञ्चारको समस्या भएको छ । एक हप्तादेखि टेलिकमको नेटवर्क नआउँदा सञ्चारका लागि समस्या भएको स्थानीयवासीसमेत रहेका नेकपा एमाले दोगडाकेदार गाउँपालिकाका अध्यक्ष काशीसिंह विष्टले जानकारी दिए । उनले भने, ‘एक हप्तादेखि सञ्चार सेवा अवरुद्ध छ, बैंकिङ काम र अन्य कामबाट पनि बञ्चित हुनुपरेको छ ।’

नेपाल टेलिकम बैतडीलाई समस्या समाधानबारे जानकारी गराएको भए पनि हालसम्म पनि बन्न नसकेको स्थानीयवासीको आरोप छ । यता नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमाटाले भने यहाँका विभिन्न टावरमा परेको चट्याङले क्षति पुर्याएकाले नेटवर्कमा समस्या आएको बताए । खोचलेकमा रहेको टावरमा चट्याङले बढी क्षति गरेको र अन्यमा भने सामान्य क्षति पुगेको टमाटाले बताए । उनले भने, ‘अन्य स्थानका टावरमा सामान्य क्षति रहेको भए पनि खोचलेकमा रहेको टावरमा आगलागी भएर उपकरणमा पूर्ण क्षति भएको छ ।’

टावर मर्मतका लागि धनगढीबाट प्राविधिकको टोली आएर मर्मत सुरु गरिससकेको छ । उनले भने, ‘प्राविधिक टोली दुई दिनदेखि टावर मर्मतमै छ, आवश्यक केही सामान जिल्लामा उपलब्ध हुन समस्या भएको छ, एक÷दुई दिनभित्रै समस्या समाधन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?