चितवन । चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय संक्रमितको सङ्ख्या पाँच सय नाघेको छ ।
सक्रिय संक्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन)मा राखिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना संक्रमण बढ्दै गएको हो ।
पुस २५ गते जिल्लामा ८२ जना सक्रिय संक्रमित रहेकोमा माघ २ गते परीक्षण गरिएकोमा १९० जनमा कोरोना संक्रमण देखिएको छ । जस अनुसार जिल्लामा अहिले सक्रिय कोरोना संक्रमितको सङ्ख्या ८२८ जना पुगेको छ ।
२ गते जिल्लाका चार वटा प्रयोगशालामा ४११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १५० जना र एन्टिजोन परीक्षमा ९० जनाको गरिएकोमा ४० जनामा संक्रमण पुष्टि भएको हो । कार्यालयका अनुसार संक्रमित प्रतिशत ३७ मा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।
पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा कोरोना सङ्क्रमण बढ्दै जाने थालेको ढकालले बताए ।
उनका अनुसार पुस २६ गते जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या ११९, २७ गते १६२ जना, २८ गते २४० जना, २९ गते ३२७ जना सक्रिय संक्रमित पुगेका थिए । अहिले जिल्लामा दैनिक कोभिड परीक्षण दर र संक्रमणदर बढ्दै गएको छ ।
पुस ३० गते शुक्रबार ३६० जनाको परीक्षण गर्दा ३७ दशमलब ५० प्रतिशतमा संक्रमण देखिएको ढकालले जानकारी दिए । ढकालका अनुसार ३६० जनाको परीक्षण गर्दा १३५ जनामा कोरोना संक्रमणण देखिएको थियो ।
माघ १ गते शनिबार जिल्लाका दुई पिसिआर ल्याब (चितवन मेडिकल कलेज र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल)मा गरिएको परीक्षणमा २४ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । तथ्याङ्क अनुसार २२५ जनाको परीक्षणका क्रममा ५४ जनामा कोरोना देखिएको थियो ।
जिल्लामा रहेका सक्रिय संक्रमितध्ये २६ जना अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् भने ८०२ जना होम आइसोलेशनमा रहेका छन् ।
यहाँ हालसम्म २८ हजार ६८ जना संक्रमित भइसकेका छन् भने २६ हजार ८०३ जना निको भइसकेका छन् । कोरोना सङ्क्रमितमध्ये ४३७ जनाको मृत्यु भइसकेको छ । जिल्लामा रहेका सक्रिय संक्रमितमध्ये ६६६ जना भरतपुर महानगरपालिकाका रहेका छन् ।
यस्तै खैरहनी नगरपालिकाको २७, माडी नगरपालिका १५, रत्ननगर नगरपालिका ७२, राप्ती नगरपालिकामा १९, कालिका नगरपालिकामा १६ जना संक्रमित रहेका छन् । जिल्लाको एक मात्र गाउँपालिकामा १२ जना सक्रिय संक्रमित रहेको उनको भनाइ छ ।
सक्रिय संक्रमित बढेको भए पनि जिल्लामा सावधानी भने अपनाएको पाइदैन । माक्सकको प्रयोग बढेपनि भीडभाड कायमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया