नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी गाउँपालिकामा बाघको आक्रमण बढेपछि निकुञ्जले बाघको अनुगमन र नियन्त्रणका लागि काम थालेको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले विनयी त्रिवेणी क्षेत्रमा निकुञ्जबाट तीन हात्तीसहितको टोली परिचालन गरिएको बताए । “बाघले आक्रमण गरेको क्षेत्र निकुञ्जको क्षेत्र नभएर राष्ट्रिय वनमा पर्ने क्षेत्र हो”, तिवारीले भने, “तर हामीले डिभिजन वन कार्यालय नवलपुरसँग सहकार्य गरेर बाघको अनुगमन र खोजीको काम सुरु गरेका छौँ ।” बाघको अनुमगनका लागि हात्तीसहित रेन्जर, प्राविधिक र सुरक्षाकर्मीको टोली खटिएको सूचना अधिकारी तिवारीले जानकारी दिए ।
दुम्कीबास आसपास क्षेत्रमा डेढ महिनायता बाघले दुई जनालाई खाइसकेको छ भने एक साताअघि मध्यविन्दुमा एक जनालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । बाघले निकुञ्जभन्दा बाहिरको मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनको क्षेत्रमा आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट दुईको ज्यान गइसकेको र अर्का एक जना गम्भीर घाइते भएपछि स्थानीय बासिन्दा जङ्गल जान छोडेका छन् । चौपाया चराउन जङ्गल जानेले ठाउँठाउँमा बाघ देखेको खबर गरेपछि स्थानीयवासी त्रसित छन् । विनयी त्रिवेणी गाउँपालिकाले चितवन राष्ट्रिय निकुञ्ज र जिल्ला वन कार्यालयलाई पत्र पठाएर बाघ नियन्त्रणमा लिन आग्रह गरेको एक सातापछि निकुञ्जले बाघ नियन्त्रणमा लिन टोली खटाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया