नेपालमा पछिल्लो समय विनादर्ता सञ्चालन हुने अनलाइन तथा युटुबले गलत समाचार सम्प्रेषण गर्नेक्रम बढेकाले नियमन गर्न आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
सोलुखुम्बुमा सम्पन्न पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाइसम्बन्धी एकदिने कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् । पत्रकार महासङ्घ सोलुखुम्बु शाखाका कार्यवाहाक अध्यक्ष भोजराज कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पछिल्लो समयमा विनादर्ता सञ्चालन हने युटुब र अनलाइनका कारण समस्या सिर्जना भएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि काउन्सिलले गृहकार्य गरिरहेको बताए । पैसा कमाउने आशमा मानिसको चरित्र हत्या भइरहेकाले यस्ता युटुब च्यानललाई व्यवस्थित तथा नियमनका लागि सरकारले पनि ठोस योजना ल्याउनुपर्ने उनको भनाइ छ ।
प्रेस काउन्सिलमा हालसम्म तीन हजार दुई अनलाइन, एक हजार ३०० रेडियो, ४०० छापा र दुई टेलिभिजन सञ्चालनका लागि दर्ता भएको तथ्याङ्क रहेको छ । काउन्सिलका सदस्य ठाकुर बेलवासेले पत्रकारको अदालत काउन्सिल भएको भन्दै कुनै पनि गुनासो तथा उजुरी भए निर्धक्क भएर उजुरी गर्न सकिने बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जिल्लामा व्यावसायिक पत्रकारिताले निरन्तरता पाएको भए पनि नेपालको अवस्था कमजोर रहेको बताए। पत्रकारले नागरिकको आवाज बोल्नुपर्ने भए पनि अहिले क्यामेरा देख्दा नागरिक भाग्नुपर्ने अवस्था सिर्जना भएकाले नियनकारी निकायको क्रियाशीलता बढ्नुपर्ने उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कट्वालले पत्रकार आफैँ अनुसन्धानकर्ता बन्दा समस्या सिर्जना हुने गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया