नागरिकता पाउनुपर्ने माग गर्दै नागरिकताविहीनहरुको प्रदर्शन

लोकपथ
105
Shares

काठमाडौं । नागरिकताविहीनहरुले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै माइतीघर मण्डलामा धर्ना दिएका छन् ।

नागरिकताविहीन नेपालीहरुले सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै बुधबार पनि माइतीघर मण्डलामा धर्ना दिएका हुन् ।

धर्ना कार्यक्रममा नागरिकताबिहीन नेपालीका राष्ट्रिय अध्यक्ष इन्द्रजित साहले जन्मसिद्ध र एकल आमा सन्तानलाई सरकारले नागरिकता नदिएको र संविधान बनेको ६ वर्षसम्म नागरिकता ऐन संशोधन नगरेकोप्रति आफ्नो आन्दोलन रहेको बताए।

उनले संविधानमा एकल आमा र जन्मसिद्धका सन्तानलाई नागरिकता दिने भनिए पनि संशोधन नगरी आफ्नो अपहेलना गरिरहेको आरोप लगाए ।

अध्यक्ष साहले भने, ‘हामी नागरिकता प्राप्तिको लागि आन्दोलन गरिरहेका छौँ । २०६३ सम्म जन्मसिद्धका आधारमा नेपाल सरकारले नागरिकता बाँड्यो । त्यसका सन्तानलाई कुन नागरिकता दिने कुरा २०७२ को संविधानले स्पष्ट गरेको छ । तर संविधानमा लेखेर पनि नागरिकता ऐन संशोधन नभएको कारणले गर्दा जन्मसिद्ध र एकल आमाका सन्तानले नागरिकता पाएका छैनन् । संविधान बनेको ६ वर्ष भइसक्यो हामी कहिलेसम्म यसरी बस्ने हो ।’

अध्यक्ष साहले सरकारले आफ्ना नागरिकहरुलाई अनागरिक रुपमा राख्न नपाउने भन्दै सरकारको बारम्बार ध्यानाकर्षण गराउँदासमेत बेवास्ता गरेको बताए।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?