मुगुमा दोस्राे पटक हिमपात

लोकपथ
104
Shares

मुगु । हिमाली जिल्ला मुगुमा दोस्रो पटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ पग्लन नपाउँदै पुन: बुधबार रातिबाट दोस्राे पटक हिमपात भएको हो ।

जिल्लामा परेको दोश्रो पटकको हिमपातले सदरमुकाम गमगढी बजारमा असर गरेको छैन भने उच्च भेग ताल्चा, रारा, मुर्मा, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगुम कार्मारोङ गाउँपालिकाका मुगु, डोल्फू, खत्याड गाउपालिकाका खमाले, सोरुकोटलगायतका हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको हो ।

हिमपातले उच्च हिमाली बस्ति सेताम्य देखिएका छन् । एक साता अगाडि परेको हिमपात पग्लिन नपाउँदै पुन हिमपात भएको स्थानीय मणिचन्द्र भामले बताए । हिमपातले अत्यधिक चिसो बढ्नुका साथै जनजीवन कष्टकर भएको छ ।

उच्च क्षेत्रमा हिमपात भए पनि बेसीतिर झरी परेको छ । हिमपात र झरीले किसानहरु हर्षित भएका छन् । हिउँ परेपछि अन्नबाली फलफूल जडिबुटीको सप्रिने किसानहरुको भनाइ छ ।

हिमपातले लेकाली बस्तीका स्थानीयलाई आउजाउ गर्न, वस्तु चराउन र घाँस दाउरा ल्याउन भने मुस्किल भएको छ ।

जिल्लामा भारी हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ । एक साताअघिको हिमपातले गमगढी नाग्मा सडक खुल्न नपाउँदै फेरि हिमपात भएपछि जिल्लामा सडकमार्ग लामो समयसम्म बन्द हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?