बाजुरामा विद्यार्थीलाई विद्यालयमै मोडर्ना खोप

RSS
70
Shares

मार्तडी । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८ सय ६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६ सय २ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ ।

सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेसँगै बाजुरामा पनि आजदेखि मोडर्ना खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । नौ पालिकाका आधारभूत र माध्यमिक विद्यालयमा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिन सुरु गरिएको पन्तले बताए ।

बूढीगंगा, बडीमालिका, बूढीनन्दा र त्रिवेणी नगरपालिका तथा खप्तड छेडेदह, हिमाली, गौमूल, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिकाका विद्यार्थीलाई खोप दिन स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर महेश चन्दले जानकारी दिए । नौ पालिकाका २२ हजार ४ सय ८ मध्ये १६ हजार ८ सय ६ बालबालिकाले मात्र पहिलोपटक मोडर्ना खोप लगाउन पाउने छन् ।

‘खोपको मात्रा १६ हजार मात्र उपलब्ध भएको छ, बाँकीलाई थप खोपको मात्रा उपलब्ध भएपछि लगाइनेछ’, उनले भने । नौवटै पालिकाका विद्यालयमा एकसाथ खोप दिन थालिएको हो । यसका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरिएको छ । जिल्लाभरि १ सय ३४ खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिएको पन्त बताउँछन् । बडीमालिकाका दुई हजार ९ सय ५ मध्ये दुई हजार १ सय ९७ जनाले खोप लगाउन पाउने छन् ।

बूढीगंगाका तीन हजार ७ सय ३८ मध्ये दुई हजार ९ सय ६३ जनाले, त्रिवेणीका तीन हजार ५ सय ६३ मध्ये दुई हजार ६ सय ७२, बूढीनन्दाका तीन हजार ४२ मध्ये दुई हजार २ सय ८२, खप्तड छेडेदहका तीन हजार २ सय १७ मध्ये ८ सय १४ तथा गौमूलका एक हजार २ सय ७१ मध्ये ९ सय ५३ बालबालिकाले मोडर्ना खोप लगाउन पाउने छन् ।

यसैगरी स्वामीकार्तिक खापरका एक हजार ७ सय १८ मध्ये एक हजार २ सय ८९, हिमालीका हजार ५ सय ६ मध्ये एक हजार १ सय ३० तथा जगन्नाथका एक हजार २ सय ३५ मध्ये ९ सय २६ बालबालिकाले मोडर्ना खोप लगाउने छन् । खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । बाजुरामा हालसम्म एक लाख १८ हजार व्यक्तिले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् । पहिलो चरणमा ६५ हजारले तथा दोस्रो चरणमा ५३ हजार व्यक्तिले खोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?