बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।
दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए । दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीयवासीले बताएका छन् ।
गत महिनामात्रै विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण मृत्यु भएको थियो । अहिले फेरि जङ्गल छेउछाउका बस्ती आसपास बाघ देखिएकाले आफूहरूले रातिको समयमा वन क्षेत्र नजिकका ठाउँमा हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न सबैमा अपिल गरिएको गाउँपालिका अध्यक्ष जिसीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया