नेपालमा किन गरिबी बढिरहेको छ ? कसरी हट्ला ?

काठमाडौं । नेपालमा कोरोना भाइरस महामारीका कारण गरिबीको रेखामुनि रहेका मानिसको संख्या बढेको छ । कोभिड १९ संक्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीले रोजगारीमा अत्यन्त ठूलो प्रभाव पारेको कारण यसको प्रत्यक्ष प्रभावले गरिबी बढाएको हो ।

अध्ययनअनुसार कोरोनाको कारण अनौपचारिक क्षेत्रतर्फ ठूलो संख्यामा कामदार र कर्मचारीले रोजगारी गुमाउन पुगेको देखिन्छ । वैदेशिक रोजगारीमा रहेकाहरूमध्ये उल्लेख्य संख्याले रोजगारी गुमाएका छन् र उनीहरू स्वदेश फर्किने क्रम जारी छ । कोरोनाभाइरस महामारीका कारण नेपालमा देखापरेको अर्को ठूलो समस्या बेरोजगारीको हो ।

महामारीका कारण वैदेशिक रोजागारीमा रहेकाहरू स्वदेश फर्किनु परेको र देशभित्रै पनि कैयौँले रोजगारी गुमाउनुपरेको अवस्था सिर्जना हुँदा बेरोजगारको संख्यामा पनि निकै वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

कस्तो अवस्थालाई गरिबी भनिन्छ ?

सामान्य अर्थमा जीवनयापनका लागि चाहिने आधारभूत आवश्यकताहरूको अभाव भएको अवस्था गरिबी हो । गरिबीले व्यक्ति, परिवार तथा समुदायको आर्थिक, सामाजिक तथा राजनीतिक अवसर तथा पहुँचहरूको वञ्चितीकरणदेखि क्षमताविहीनता तथा अक्षमतालाई समेट्दछ ।

गरिबीलाई निरपेक्ष तथा सापेक्ष रूपमा वर्गीकरण गर्न सकिन्छ । निरपेक्ष गरिबीले जीवन निर्वाहका लागि आवश्यक न्यूनतम क्षमता नभएको अवस्थालाई चित्रण गर्दछ भने विभिन्न समाज तथा समयसापेक्ष निर्धारण गरिएका जीवनस्तरका आधारहरू पूरा गर्नसक्ने क्षमताविहीनताको अवस्था सापेक्ष गरिबी हो ।

सापेक्ष गरिबीले तुलनात्मक गरिबीलाई चित्रण गर्दछ । माथिल्लो तह वा मध्यम तहका मानिसको तुलनामा तल्लो आयस्तर भएका मानिसहरूको आयस्तर वा जीवनस्तर कस्तो र फरक छ भनी सापेक्ष रूपमा हेर्ने गरिन्छ ।

समग्रमा आर्थिक, सामाजिक, मानवीय, शैक्षिक आदी दृष्टिकोणबाट पछौटेपन, स्रोत साधन तथा अवसर र रोजाइहरूबाट वञ्चिती एवं पहुँचविहीनताको अवस्था नै गरिबी हो ।

किन झन्झन् गरिब हुँदै छन् नेपाली ?

गरिबी सामाजिक अर्थव्यवस्थको संरचना, स्रोत साधन वितरणको अवस्था, गलत निर्णय तथा नीतिहरूका उपज हो । कमजोर शासकीय प्रणाली, न्यून सामाजिक आर्थिक पूर्वाधार, स्रोत साधनको असमान वितरणजस्ता कारणहरूले स्रोत साधन अवसर तथा पहुँचविहीनताको अवस्थामा पुर्‍याउँछ जुन अवस्था गरिबीको अवस्था हो ।

गरिबीका मुख्य कारणहरू :

  • एकात्मक शासकीय संरचना
  • स्रोत साधन तथा अवसरहरूको असमान वितरण
  • बेरोजगारी
  • कमजोर शैक्षिक अवस्था
  • परिवारको आकार तथा प्रकार
  • न्यून मानव विकास
  • कमजोर पूर्वाधार विकास
  • भ्रष्टाचार
  • सामाजिक असमानता

नेपालमा गरिबी घट्न नसक्नुका कारणहरू :

नेपालमा आठौँ योजना अवधिबाट गरिबी निवारणले राष्ट्रिय प्राथमिकता पाउन थालेको भए पनि गरिबी न्यूनीकरण हुन नसकेको अवस्था छ । गरिबी न्यूनीकरण हुन नसक्नुका प्रमुख कारण तथा समस्याहरूलाई देहायअनुसार उल्लेख गर्न सकिन्छ ।

  • केन्द्रीकृत तथा एकात्मक राज्य प्रणाली,
  • नेपालको विशिष्टता सुहाउँदो स्पष्ट, सान्दर्भिक गरिबी निवारण नीतिको अभाव,
  • वास्तविक गरिब पहिचान हुन नसक्नु,
  • गरिबलक्षित कार्यक्रम क्षमता विकासभन्दा वितरणमुखी हुनु,
  • गरिबी निवरण सम्बन्धित कार्यक्रमहरूबीच समन्वयको अभाव,
  • राज्यका आधारभूत सेवा सुविधाहरूमा सबैको सरल र सहज पहुँच हुन नसक्नु,
  • विकासका पूर्वाधारहरूको पर्याप्त विकास हुन नसक्नु,
  • निर्वाहमुखी कृषि प्रणाली

गरिबी निवारणका उपायहरू :

  • स्थानीयस्तरमा नै आयआर्जनका कार्यक्रम तथा उद्यशीलता विकासमा स्थानीय तहहरूले लगानी अभिवृद्धि गर्ने,
  • भौतिक पूर्वाधारहरूमा लगानी वृद्धि गर्ने,
  • अत्यावश्यक आधारभूत आवश्यकताहरूको सरल र सहज पहुँचको सुनिश्चितता प्रदान गर्ने,
  • कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकीकरण गर्ने,
  • सहकारी, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरूसँगको सहकार्यमा ग्रामीण गरिबी निवारण हुन सहयोग पुग्ने किसिमका क्षमता विकास तथा सीप विकासजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने,
  • वितरणमुखी गरिब लक्षित कार्यक्रमहरूलाई भन्दा उत्पादनमुखी, क्षमता विकास कार्यक्रममा जोड दिने ।

गरिबी अन्तरसम्बन्धित विषय भएको हुँदा यसको निवारणका लागि यससँग सम्बन्धित सबै क्षेत्रको सहयोग तथा आपसी सहकार्य अत्यन्त महत्वपूर्ण रहन्छ । जबसम्म मुलुकमा आर्थिक सामाजिक विकास भई नागरिकहरूले साधन स्रोत तथा अवसरमा पहुँच हुने अवस्था सिर्जना हुँदैन तबसम्म गरिबी निवारणले गति लिन सक्दैन ।

नेपालको सन्दर्भका गरिबी न्यूनीकणका लागि ३ तहका सरकारहरूको एक–आपसमा सहकार्य र समन्वय गर्दै सरकारी, सरकारी, निजी र गैरसरकारी क्षेत्र एवं विकास साझेदारहरूको एकीकृत र साझा प्रयासले मात्र गरिबी न्यूनीकरण हुन सक्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?