दिपेन्द्र अधिकारी । अनलाइनबाट टिकट खरिद, साथीभाइ परिवारसँग हलमा गएर हलिउड, बलिउडका फिल्म हेर्ने अनि चियागफमा गफिने एक तप्का छन् जोसँग नेपाली फिल्मको साइनो नै छैन ।
आज शुक्रबार हलमा तीन–चारवटा नेपाली फिल्म लाग्यो, नायक, नायिका कलाकारको टिम हेर्दै फलानोको राम्रो छ, फलानो राम्रो छैन होला भन्दै टिकट खरिद गर्ने अर्काथरी छन् । अहो नेपाली फिल्म ! व्याख्या विश्लेशण समीक्षा केही गर्नु पर्दैन फिल्म हेर्यो । अनि हलबाट निस्कँदै भन्यो– यो त अलि झुर रहेछ यार !
दर्शकका यी प्रवृत्ति नदेखिएको दुई वर्ष भयो । हलिउड र बलिउडका फिल्मका स्वाद डिजिटल प्लेटफर्मले दिएको छ तर कलिउडको फिल्म कस्तो हुन्थ्यो भनेर दर्शकले बिर्सने अवस्था आएको छ ।
करिब ५० अर्ब हाराहारीको नेपाली फिल्म क्षेत्र कोरोना सुरु भएपछि प्राय ठप्प छ । फिल्म क्षेत्र शिथिल हुँदा यसमा आबद्व जनशक्तिको रोजीरोटी त गुमेको छ नै हलको विकल्पमा डिजिटल रूपबाट विश्वबजारमा हिस्सा खोज्ने ल्याकत समेत रजतपटसँग छैन ।
नेपाल चलचित्र संघका अनुसार दुई सय फिल्महलमा ४० अर्बभन्दा बढी लगानी छ । अन्य चलअचल सम्पत्ति १० अर्ब हाराहारी रहेको अनुमान छ । अर्बौँ लगानीकोे नेपाली फिल्म उद्योग दुई वर्षदेखि लागभग कोल्याप्स भएको छ । हजारौँको रोजगारी गुमेको छ भने २ दर्जन हाराहरीमा हल सधैँका लागि बन्द भएका छन् । सोही संख्यामा बन्द हुने जोखिममा छन् । फिल्म हलले मात्र दैनिक एक करोड घाटा व्यहोरिरहेको नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधान बताउँछन् ।
तनावमा हल सञ्चालक (मधुसुधन प्रधान अध्यक्ष, चलचित्र संघ)
‘दैनिक एक करोडको हाराहाीमा घाटा व्यहोरिरहेका छौँ । कर्मचारीहरू छन् उनीहरूलाई पारिश्रमिक दिनैपर्यो । बिजुली, पनि सुरक्षा प्रबन्ध भयो । कसै कसैको त फिल्म हल भाडामा छ । दुई सय फिल्महलमा करिब दुई दर्जनको हाराहरीमा त सधैँको लागि नै बन्द भइसक्यो । चटक्कै छोडौँ गरिआएको काम, नछोडौँ घाटा मात्र छ । के गर्ने खोइ ? कतिपय साथीहरू पलायन नै भइसक्नुभयो । अब हलको भवन पनि अन्य प्रयोजनमा प्रयोग गर्नुपर्छ । हलको लागि तयार पारिएको संरचना नै घाँडो हुने पो हो कि भन्ने अवस्था आइसक्यो । कहिलेसम्म हो यो अन्योल । बैंकको ब्याज बढिरहेको छ, सहुलियत भनिए पनि मिनाहा त छैन नि । साँवाको भुक्तानी कहिले र कसरी गर्ने ? आम्दानी सुको छैन । झण्डै ४० वटा फिल्मको प्रदर्शन रोकिएको छ । २० वटा फिल्म पोष्ट प्रोडक्शनमा छन् भने १० वटा फिल्म फ्लोरमा छन् ।’
निर्माताले डेढ अर्बभन्दा बढी घाटा बेहोरिरहेको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् ।
आकाश अधिकारी (अध्यक्ष निर्माता संघ)
‘दुई वर्षको अवधिमा एक अर्ब ६० लाखभन्दा बढीको फिल्म निर्माण भएर फ्रिज भएर बसेको छ । फिल्म क्षेत्र मनोरञ्जन क्षेत्र मात्र नभएर कला, संस्कृति भेषभुषा राष्ट्रको अस्तित्वलाई पनि बचाउने र संसारमा पुर्याउने क्षेत्र भनेको फिल्म क्षेत्र हो । कोभिडको प्रकोपबाट यसलाई उद्दार गर्नको लागि राज्यले एउटा प्याकेज ल्याउनु पर्छ । राज्यले पब्लिसिटी खर्च बेहोर्देओस् न्यूनतम लगानी सुरक्षित गर्दियोस् । २० प्रतिशत मात्र राज्यले बेहोर्ने हो भने ८० प्रतिशत जोखिम निर्माताले उठाउँछन् । के विश्वबजारलाई कोरोना लागेन ? जहाँ प्रणली, पद्धति त त्यहाँ हल सञ्चालनममा आएका छन् । कोभिडबाट सुरक्षित राखेर यो उद्योग चलायमान बनाउन सकिन्छ ।

वर्षमा सयको हाराहारीमा फिल्महरू प्रदर्शनमा आउने गथ्र्यो, तीमध्ये अधिकांशले प्रचारका खर्च समेत उठाउन मुस्किल हुने गर्दथ्यो । तर फिल्म प्रदर्शनमा आउने वातावरण नहुँदा केही निर्माताहरू भने जोगिएको चलचित्र समीक्षक सामीप्यराज तिमल्सेना बताउँछन् । नेपाली फिल्मको मुख्य बजार भनेको फिल्म हल मात्र हो । युट्युब तथा टेलिभिजनलागयतका माध्यमबाट फिल्मले नाफा कमाउन सक्ने भए पनि युट्युबबाट निर्माण टिमले राहत पाउँछन् ।’ फिल्म हलभन्दा बाहिरको नेटफ्लिक्स, अमेजनलगायतका डिजिटल माध्यम विश्व बजारको लागि उपयुक्त भए पनि नेपाली फिल्मको लागि डिजिटल प्लेटफर्म पनि कठिन भएको समीक्षक तिमल्सेना बताउँछन् ।
नसुध्रेको फिल्म क्षेत्रलाई घाटा छैन (सामीप्यराज तिमल्सेना महासचिव, समीक्षक समाज)
‘यस अर्थमा घाटा छैन जस्तो लाग्छ, किनकि हामी पहिले असाध्यै धेरै घाटा बेहोरिरहेका थियौँ । निर्माताहरूले गर्ने लगानी थियो त्यो उठिरहेको थिएन । सधैँ घाटामात्र छ भनेर फिल्म उद्योग नै छोड्ने र बन्द गर्ने भन्ने त होइन । बाहिरतिर आधाले ओटीटी सब्स्क्राइब गर्छन् अधाले पाइरेसीबाट हेर्दा पनि जेन्यून दर्शकले हेर्दा पनि उनीहरूको लगानी सुरक्षित हुन्छ । हाम्रो दर्शक जति छन् त्यसले ओटीटीको लागि पुग्दैन । जबसम्म ओटीटी प्लेटफर्मले लगानी गर्दैन उनीहरू नयाँ नयाँ कन्टेन्ट उत्पादन गर्न लगानी गर्दैन तबसम्म त्यो चिजको भविष्य हुन्न ।’
निर्माता संघका अध्यक्ष अधिकारी पनि नयाँ कन्टेन्ट उत्पादन अनिवार्य भएको बताउँछन् ।

उनी भन्छन्, ‘हिजोको दिनमा भारतको कपि भएर फिल्म बन्थ्यो भने आज त्यही नेटफ्लिक्सभित्र गइसकेका, युटुयुबमा रहेका कुनै माध्यमबाट प्राप्त भएका, युरोपतिरका फिल्महरूलाई फेरि कपि गर्ने चलन बढीरहेको छ । यो भएको खण्डमा पनि नेटफ्लिक्स र अमजनले किन्दैन ।’
संख्यात्मक रूपले बढ्ने गरे पनि गुणत्मक रूपले नेपाली फिल्ममा सुधार नभएको आरोप लाग्दै आएको छ । कोरोनाले ठप्प रहेको यो क्षेत्रले अवस्था सामान्य भएपछि ती आरोप पखाल्ने अपेक्षा गर्न सकिन्छ ।
फिल्म भनेको अन्य देशको जस्तो पो हुनुपर्छ भन्ने मान्यता राख्ने र घरेलु उत्पादनलाई बेवास्ता गर्ने हो भने नेपाली फिल्मको लागि डिजिटल बजार ‘आकाशको फल आँखा तरी मर’ भनेजस्तै हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया