काठमाडौं । औद्योगिकीकरणको माध्यमबाट मुलुकको आर्थिक विकास गर्ने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो बालाजु औद्योगिक क्षेत्र अस्तव्यस्त देखिएको छ ।
उत्पादनमुखी उद्योगलाई आवश्यक भौतिक पूर्वाधारहरू जमिन, भवन, विद्युत्, पानी, ढल, सडकलगायतका सुविधाहरू एकै ठाउँमा उपलब्ध गराउने नीतिका साथ स्थापित यस औद्योगिक क्षेत्र अहिले कुनै व्यापारिक क्षेत्रजस्तो देखिन्छ । यहाँको सडक संरचनाले विकट गाउँघरको आभास दिलाउँछ भने मुख्य सडकमा भएका सवारीसाधनका शोरुमहरूले ‘अटो शो’को झल्को दिन्छ ।
२०२० देखि सञ्चालनमा आएको यस औद्योगिक क्षेत्र ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ । जहाँ हाल १४० उद्योग छन् । यीमध्ये १३० वटा उद्योग सञ्चालनमा छन् भने ६ वटा उद्योग निर्माणाधीन अवस्थामा र ४ वटा बन्द अवस्थामा छन् ।
बालाजु औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य उद्योग,निर्माण सामग्रीसम्बन्धी उद्योग, खाद्य तथा पेयपदार्थ उद्योग, पोल्ट्री, ह्याचरी तथा दाना उत्पादन उद्योग तामा तथा धातुका भाँडावर्तनसम्बन्धी उद्योग, केमिकल सामग्री र रंगरोगन उद्योग, फर्निचर उद्योग चारवटा, छपाइसम्बन्धी कार्य गर्ने उद्योग, जुत्ता तथा विविधि उद्योग सञ्चालनमा छन्।
यसका साथै अति प्रज्वलनशील नेपाल ग्याँस, अति हानिकारक मोबिल प्रशोधन उद्योग सञ्चालनमा छन् भने श्री सत्यनारायण पेट्रोलपम्प सञ्चालनमा तयारीमा छन् ।
गैरउत्पादनमूलक उद्योगको वर्चस्व
औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगहरूसञ्चालन हुनुपर्ने भएपनि बालाजु औद्योगिक क्षेत्रमा गैरउत्पादनमूलक उद्योगहरूको वर्चस्व देखिन्छ ।
सरकारले औद्योगिक क्षेत्रभित्र गैरउत्पादक उद्योग स्थापना गर्न नदिने व्यवस्था लागू गरेको छ । तर बालाजु औद्योगिक क्षेत्रको परिदृश्यले सरकारी नीतिलाई नै गिज्याइरहेको देखिन्छ ।
औद्योगिक क्षेत्रको मुख्य प्रवेशद्वारदेखि नै सरकारी तथा निजी कार्यालयहरूको होर्डिङबोर्ड देखिन्छ । बालाजु औद्योगिक क्षेत्रमा झण्डै एक दर्जन सरकारी तथा गैरसरकारी संघसंस्थाकाकार्यालय सञ्चालनमा छन्। यस्तै बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, बैंक अफ काठमाण्डू, जनमैत्री अस्पताल, नेपाल बैंक, नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय बालाजु उद्योग विकास, औद्योगिक सुरक्षा गुल्म, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, औद्योगिक क्षेत्र उद्योग महासंघलगायतका संघसंस्थाहरको कार्यालय समेत यसभित्र सञ्चालित छन्।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अटोमोबाइल्स कम्पनीलाई समूह २ मा राखेको छ । तर औद्योगिक क्षेत्रको मुख्य सडकहरूमा अटोमोबाइल कम्पनीहरूको शोरुमहरूको वर्चस्व छ । यी कम्पनीहरूले वर्कशपका रूपमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा दर्ता गराएका छन् । तर शोरुमका रूपमा सञ्चालित छन् ।
अशोक एल टी इन्जिनियरिङ, आईएमई अटोमोटिभ्स, बालाजु अटो वर्क, विशाल ग्रुप, दुगड ब्रदर्श एण्ड सन्स, नकस मोटर्स, होण्डा, अग्नि इन्कर्पोरेट, गुराँस इन्जिनियरिङ, पूजा इन्टरनेसनललगायत दर्जनाँै कम्पनीका शोरुम तथा सर्भिस सेन्टरहरूसञ्चालनमा छन् । जहाँबाट मोटरसाइकल, जीप, कार, हेभी इक्विपमेन्ट, बसलगायतका सवारीसाधनहरू बिक्री वितरण तथा मर्मत हुँदै आएका छन् ।

जताततै खाल्डो, झाडी र ढल
विकासको आधार मानिने औद्योगिक क्षेत्रभित्रको विकास निर्माण भने लज्जास्पद देखिन्छन् । पुराना भौतिक संरचनाको मर्मत सम्भार नहुनु एकातिर छँदैछ अर्काेतिर यहाँभित्रको सडक संरचनाले औद्योगिक क्षेत्रलाई नै गिज्याइरहेको भान हुन्छ ।
सडकमा मात्रै होइन कतिपय कम्पनीभित्रको अवस्था पनि उस्तै देखिन्छ । कतिपय कार्यालय र उद्योग प्रवेश गर्न पनि सिकसिक लाग्ने खालको छ ।कम्पनीकै प्राङ्गण घाँस र झारपातले ढाकिएका छन् । नेपालकै उत्कृष्ट कम्पनी र संघसंस्थाहरूको प्राङ्गणमा देखिने दृश्यहरू कुनै कवाडीखानाको भन्दा कम छैन ।
आफ्नै कार्यालयको प्राङ्गण सरसफाइ नगर्ने यस्ता कम्पनीहरूले सडक आसपासको झारपात उखेल्ने कुरै भएन । त्यसैले होला जता हे¥यो उतै खाल्डाखुल्डी, जता हे-यो उतै झाडी ।
जताततै थुप्रिएको फोहोरको डंगुर, भत्केको सडक, अस्तव्यस्त पार्किङ, झाडी, धुँवाधुलो, अव्यवस्थित ढललगायत देख्दा कुनै दुर्गम गाँउमा पुगेको आभास हुन्छ। विशाक्त पानी रिफाइनरी नगरी ढलमा मिसाइएको छ भने प्लास्टिक र विभिन्न कच्चा पदार्थले ढलहरू मुस्किलले बगिरहेका छन् ।

औद्योगिक क्षेत्र प्रदूषण उत्पादन क्षेत्र बन्योः स्थानीय
औद्योगिक क्षेत्रको भौतिक तथा वातावरणीय संरचनादेखि स्थानीय चिन्तित छन् । उनीहरू बालाजु औद्योगिक क्षेत्रलाई प्रदूषण उत्पादन क्षेत्र ठान्छन् । ‘यो बालाजु औद्योगिक क्षेत्र नभएर जनतालाई असर गर्ने प्रमुख क्षेत्र हो’, स्थानीय रविन्द्र श्रेष्ठले भने ।
यस्तै बेष्ट बालाजु क्लबका अध्यक्ष जीवन अधिकारी पनि औद्योगिक क्षेत्रले स्थानीयलाई सास्ती मात्रै दिएको बताउँछन् । औद्योगिक क्षेत्रभित्रको बाटो गाउँघरको जस्तो भएको भन्दै उनले भने, ‘यस विषयमा स्थानीयले भन्दा पनि उद्योगीहरूले कुरा नै बुभ्mनुपर्ने हो ।’
ठूला गाडीहरूआउँदा स्थानीयको खानेपानीको पाइप फुटेर हैरानी खेप्नुपरेको उनको गुनासो छ । सवारीसाधनको शोरुमहरू खोल्नु दिनुभन्दा कुनै उत्पादनमूलक उद्योग खोल्नुपर्ने उनको सुझाव छ। एक हजार जनाले रोजगारी पाउने उद्योग बन्द भएका छन्, १५-२० जनालाई काम दिने शोरुम र कार्यालयहरू आएका छन्, अधिकारीले भने ।
औद्योगिक क्षेत्रले स्थानीयलाई कुनै पनि सुविधा नदिएको भन्दै उनले रोजगारी र सामग्री खरिदमा सहुलियत दिनुपर्ने बताए ।

जनतालाई विषखुवाइरहेको छ : वडाध्यक्ष
औद्योगिक क्षेत्रको अस्तव्यस्त अवस्था र भद्रगोल संरचनाप्रति स्थानीय सरकारको पनि ठूलो आपत्ति छ ।काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालले बालाजु क्षेत्र सबैभन्दा बढी प्रदूषित हुने ठाउँ बनेको जिकिर गर्छन् ।
औद्योगिक क्षेत्रले स्थानीयलाई विष दिने काम भइरहेको बताउँदै उनले भने, ‘औद्योगिक क्षेत्रकै कारण बालाजु सबैभन्दा बढी प्रदूषित क्षेत्र बन्नपुगेको छ ।’ वडाध्यक्ष रिजालले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सहकार्यका लागि पटक–पटक ताकेता गरेपनि बेवास्ता गरेको बताए ।
औद्योगिक क्षेत्रभित्रको सडक, ढललगायतका पूर्वाधार महानगरले मर्मत गर्नुपर्ने भएपनि त्यहाँका उद्योगहरूले कर नतिरेको रिजाल बताउँछन् । उद्योगहरूले आपूmहरू संघीय सरकार मातहतको भनेर नक्सा पास समेत नगरी स्थानीय सरकारलाई अटेर गर्ने गरेको उनको भनाइ छ ।
अस्तव्यस्त संरचनालाई पुनर्निर्माण गर्न आग्रह गर्दा पनि औद्योगिक क्षेत्रले कुनै चासो नदिएको बताउँदै उनले भने, ‘हामी जनतालाई विकास र रोजगारी दिनुप-यो, हामी सबै सहयोग गर्न तयार छौँ ।’ कुनै पनि सामग्रीको गोदामलाई उद्योग भन्न नमिल्दै भन्दै वडाध्यक्ष रिजालले औद्योगिक क्षेत्रभित्र सानालाई ऐन ठूलालाई चैन भइरहेको टिप्प्णी गरे ।
आफू वडाध्यक्ष हुनुअघिदेखिनै औद्योगिक क्षेत्र सुधारका लागि आवाज उठाउँदै आएको उनको भनाइ छ । अहिले औद्योगिक क्षेत्र व्यवस्थित बनाउन पहल गर्दा संघीय सरकारलाई स्थानीय सरकारले असहयोग गरेको आरोप लाग्ने उनी बताउँछन् । औद्योगिक क्षेत्र स्थानीय सरकारको मातहत परेको भए सुधार हुने रिजालको दाबी छ ।
बालाजुलाई कुनै बेला वाटर गार्डेन भनिन्थ्यो तर पछिल्लो समय ड्राइ गार्डेन बन्न पुगेको छ । औधोगिक क्षेत्रमा प्रयोग गर्न भूमिगत पानीको अत्यधिक प्रयोग हुँदा आसपासका कुवा, धारा, इनार सुकिसकेका छन् । पानी सुकेकाले हरेक दुई वर्षमा इनार गहिरो बनाउने समस्या थपिएको स्थानीय बताउँछन् ।

औद्योगिक क्षेत्रको जग्गा छोरीलाई दाइजो !
औद्योगिक क्षेत्रमा मौलिक उद्योग स्थापनाभन्दा पनि जग्गा भाडामा दिने प्रवृत्ति मौलाएको छ।
जग्गा ठेक्का र भाडामा दिने मात्रै होइन प्लटिङ गर्दै धमाधम बिक्री भइरहेको पाइएको छ । यसभित्र प्रतिआना ४ देखि ६ लाख रुपैयाँमा जग्गाको कारोबार हुनेगरेको छ ।
उद्योगको नाममा कुनै संस्था वा व्यक्तिलाई जग्गा मिलाइदिएबापत लाखौँरुपैयाँको कमिसनको खेल हुनेगरेको छ । कतिपय भूमाफियाले औद्योगिक क्षेत्रको जग्गा व्यक्तिको नाममा समेत पुर्जा बनाइसकेको स्थानीयको भनाइ छ ।
औद्योगिक क्षेत्रको जग्गामा राम्रैसँग चलखेल भइरहेको कुरा वडाध्यक्ष रिजाल पनि स्वीकार्छन् । उनले उद्योग जग्गा चलखेल गरी छोरीलाई दाइजो दिएको समेत फेला परेको बताए ।
बजेट नै पुग्दैन : व्यवस्थापन कार्यालय
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले सीमित स्रोत साधनका कारण औद्योगिक क्षेत्रको अस्तव्यस्त अवस्थालाई व्यवस्थित बनाउन नसकिएको जनाएको छ । सीमित बजेटका कारण औद्योगिक क्षेत्रको मापदण्ड पूरा गर्न नसकिएको बताउँदै कार्यालय प्रमुख भोजराज बिनाडीले भने, ‘पर्याप्त बजेट भयो भने हामी मापदण्डअनुसार व्यवस्थित बनाउछौँ ।’
वातावरण प्रदूषण हुनेगरी उद्योग सञ्चालन गर्न नपाइने भन्दै उनले सम्वन्धित निकायको अनुमति पत्र प्राप्त भएपछि मात्रै औद्योगिक क्षेत्रले सम्झौता अघि बढाउने गरेको बताए । उद्योगीहरूलाई आफ्नो आसपासको सडक सरसफाइ गर्न आग्रह गर्नेगरेको बताउँदैै विनाडीले सम्झौता गर्दा नै २० प्रतिशत जमिन बगैँचाका लागि छुट्याउनुपर्ने व्यवस्था गरिएको उल्लेख गरे ।
औद्योगिक क्षेत्रमा उत्पादनमूलक उद्योगकै बाहुल्यता रहेको व्यवस्थापन कार्यालयको दाबी छ । सवारीसाधन सम्बन्धित कम्पनीहरूलाई वर्कशपका रूपमा अनुमति दिइएको बताउँदै कार्यालय प्रमुख बिनाडी भने, ‘हामीले वर्कशपका लागि सम्झौता गरेका छौँ, शोरुमकालागि होइन ।’
कार्यविधिविपरीत सञ्चालित उद्योगहरूलाई सम्बन्धित निकायले अनुगमन र कारबाही गर्नेगरेको भन्दै उनले औद्योगिक क्षेत्र सुधारका लागि आवश्यक कुराहरू माथिल्लो निकायमा सिफारिस गरिएको बताए ।
भद्रगोल व्यवस्थापनले बढ्यो जोखिम
औद्योगिक क्षेत्रमा लुब्रिकेन्ट्सजस्तो अति हानिकारक वस्तुको प्रशोधन उद्योगदेखि अति प्रज्वलनशील ग्याँस उद्योग समेत छन् । यति मात्रै होइन प्रज्वलनशील प्लास्तिक तथा विभिन्न रसायनजन्य उद्योगहरू पनि दर्जाैनौँको संख्यामा सञ्चालित छन् ।
यस्ता उद्योगहरूसञ्चालन भइरहेको औद्योगिक क्षेत्रको भद्रगोल व्यवस्थापनले आसपासको बस्तीलाई नै जोखिम पारिरहेको छ ।
पूर्वाधार सम्पन्न भौतिक संरचना र सुरक्षित उद्योग कलकाखाना भई दिएको भए दुर्घटना टार्न सकिने स्थानीयको आकलन छ । हालै नेबिको विस्कुट उद्योगमा लागेको आगलागी तत्काल नियन्त्रणमा आउन नसक्नुको एउटा कारण साँघुरा र खाल्डाखुल्डी सडक भएको उनीहरूको जिकिर छ ।
भारी सवारीसाधनहरू दिनहुँजसो आवतजावत हुने भएकाले सडकमा ठूल्ठूला खाल्डाखुल्डी छन् । यसले गर्दा दमकल र एम्बुलेन्सहरू बेलैमा घटनास्थल पुग्न सकेको छैन । यो सडकमा नियमितजस्तो सवारी दुर्घटना हुनेगरेको स्थानीयको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया