काठमाडौंको घाँटीमा सधैँ खतराको घण्टी (भिडियोसहित)

बालाजु औद्योगिक क्षेत्रमा रहेको अतिप्रज्वलनशील उद्योगका कारण हुनसक्ने कुनै पनि दुर्घटनाले काठमाडौंको उत्तर–पश्चिमी बस्ती अति जोखिममा

गत शनिबार (२३, साउन) बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा भयानक आगलागी भयो । बिहान २ बजे लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी समय लागेको थियो।

नेपालकै पहिलो औद्योगिक क्षेत्रभित्र लागेको आगलागीबाट नेपालकै सबैभन्दा पुरानो (५७ वर्ष) बिस्कुट उद्योग ध्वस्त भयो । उद्योगका ब्राण्ड मेनेजर अरुण पौडेलका अनुसार उद्योगमा भएभरका कच्चापदार्थदेखि तयारी सामग्री र मेसिनहरू सबै जलेका छन् । उनी भन्छन्, ‘हामी जिरो अवस्थामा पुगेका छौँ, आगो लाग्नासाथ निभाउन पाएको भए यतिधेरै क्षति हुँदैन थियो कि !’

आगलागी भएको भवनभन्दा पश्चिततर्फ चप्पल कारखाना सञ्चालित छन् । आगो सल्किएर त्यहाँ पुगेको भए अवस्था झनै भयावह हुने देखिन्छ । त्यसभन्दा माथि मोबिल र विभिन्न रसायनजन्य उद्योगहरू सञ्चालनमा छन् । जुन अति प्रज्वलनशील पदार्थ हुन् ।

यस औद्योगिक क्षेत्रमा आगलागी भएको यो नै पहिलो पटक भने होइन । यहाँ पटक-पटक साना ठूला आगलागीहरू हुँदै आएका छन् । गत वर्ष पनि यस औद्योगिक क्षेत्रभित्र रहेको जगदम्बा पोलिटेंक प्लास्टिक कारखानामा आगलागी भएको थियो । त्यसअघि फोर्स मोटर्सको वर्कशप र कोल्डस्टोरमा पनि आगलागी भएको थियो ।

स्थानीय बेष्ट बालाजु क्लबका अध्यक्ष जीवन अधिकारी पूर्वाधारसम्पन्न औद्योगिक क्षेत्र भइदिएको भए आगलागी तत्कालै नियन्त्रणमा लिन सकिने बताउँछन् । बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग आफूहरूले पटक-पटक दमकल राख्न ताकेता गरे पनि बेवास्ता गर्दा यस्ता घटनाहरूमा ठूलो क्षति हुनेगरेको अधिकारी बताउँछन् । ‘यदि औद्योगिक क्षेत्रभित्र दमकल भइदिएको भए आगो चाँडै नियन्त्रणमा लिन सकिन्थ्यो तर हामीले पटक-पटक ताकेता गर्दा पनि सुनुवाइ भएन’, उनले भने, ‘यहाँ न बाटो राम्रो छ न आगो नियन्त्रणका लागि पूर्वाधार नै ।’

स्थानीय रविन्द्र श्रेष्ठ पनि यति धेरै संवेदनशील क्षेत्रमा एउटा पनि दमकल र एम्बुलेन्स नुहनु दुःखद भएको बताउँछन् । ‘यहाँ धेरै पटक यस्ता दुर्घटनाहरू भएका छन्, तर हाम्रो कुरा कसैले सुनेन, हामी संघर्षमै छौँ’, उनले भने ।

काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाल पनि औद्योगिक क्षेत्रसँग दमकल नहुनु विडम्बनापूणर् भएको बताउँछन् । २०१६ सालमा स्थापित यस औद्योगिक क्षेत्रमा स्थापनाकालमा दमकल थियो तर अहिले छैन । ‘औद्योगिक क्षेत्र ७० वर्षको बुढो होसहवास गुमेको होला’, वडाध्यक्ष रिजालको टिप्पणी छ ।

औद्योगिक क्षेत्रमा आगलागी हुँदा स्थानीयको स्रोतसाधनबाट आगो निभाउने काम गर्दै आए पनि स्थानीयको मागप्रति भने व्यवस्थापन पक्ष मौन बसेको वडाध्यक्ष रिजालले बताए ।

मोबिलले सास फेर्नै सकस

बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित छ, जिप्याक लुब्रिकेन्ट्स प्रालि । यस कम्पनीले बजारमा एक पटक प्रयोग भएको मोबिललाई पुनः प्रयोगका लागि प्रशोधन गर्ने गर्दछ।

मोबिल प्रशोधन उद्योगले गर्दा स्थानीयको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । गन्धले खानपिनदेखि सुत्नलाई समेत असर गरेको स्थानीयको गुनासो छ । उद्योग आसपास हिँड्डुल गर्दा सास फेर्न समेत सकस हुनेगरेको स्थानीय बताउँछन् ।

यसले स्थानीयलाई रोगी बनाइरहेको बताउँछन् वडाध्यक्ष रिजाल । ‘यहाँ मोबिलको भट्टी चलिरहेको छ, स्वच्छ हावा खान बिहान मर्निङवाक जानेहरू बिरामी हुने अवस्था छ, यस्ता मोबिल कारखानाले क्यान्सरजस्ता घातक रोगहरू निम्त्याउँछ । उनले भने । मोबिल रिफाइन उद्योगले गर्दा त्यहाँबाट बस्ती नै हट्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

यति मात्रै होइन मोबिल प्रज्वलनशील पदार्थ पनि हो । यसले गर्दा पनि स्थानीय त्रसित छन् ।

नेपाल ग्याँस हटाउन आन्दोलन

बालाजु औद्योगिक क्षेत्रमा २०२६ देखि सञ्चालनमा रहेको नेपाल ग्याँस उद्योगले बालाजु औद्योगिक क्षेत्रको २० रोपनी जग्गा ओगटेको छ । यस कम्पनीले दैनिक १० हजार सिलिन्डरसम्म ग्याँस उत्पादन गर्दै आएको छ ।

बस्तीको बीचमा निकै जोखिम भएको भन्दै यहाँबाट हटाउन स्थानीय राजनीतिक दलदेखि विभिन्न संघसंस्थाहरूले समेत आन्दोलन गरेका छन् । तर त्यसको कुनै सुनुवाइ नभएको स्थानीयको भनाइ छ । उद्योगले स्थानीयको माग सुनुवाइ गर्नुको साटो धमाधम व्यवसाय विस्तार गर्दै लगेको छ ।

बस्तीको बीचमा रहेको औद्योगिक क्षेत्रभित्र नेपाल ग्याँस उद्योग सञ्चालन हुनु भनेको बम उत्पादन गर्नुजत्तिकै जोखिममा रहेको स्थानीयको बुझाइ छ ।

नेपाल ग्याँसले कार्यविधिबिना नै सो ठाउँमा राज जमाइरहेको वडाध्यक्ष रिजालको भनाइ छ । ‘हिजो बिस्कुट कारखानामा आगो लाग्दा त यतिधेरै क्षति भयो, ग्याँसमा आगो लाग्यो भने हाम्रो हालत के होला ?’ उनको प्रश्न छ ।

बालाजु बेष्ट क्लबका अध्यक्ष अधिकारी पनि नेपाल ग्याँस स्थानीयको मागप्रति मौन बसेको बताउँछन् । नेपाल ग्याँसको भण्डार देखेर स्थानीय त्रसित हुन थालेको भन्दै उनले भने, ‘नेपाल ग्याँसले स्थानीयलाई सुरक्षित छन् भनेर बुझाउन सकेको छैन, त्यसकारण यसलाई यहाँबाट हटाउनुपर्छ भन्ने स्थानीयको ठूलो माग छ ।’

नेपाल ग्याँस भने आफूहरूले सुरक्षाको सम्पूणर् प्रबन्ध मिलाएर उद्योग सञ्चालन गरिरहेको दाबी गर्दै आएको छ ।

मापदण्डविपरीत पेट्रोलपम्प

बालाजु औद्योगिक क्षेत्रभित्रै सञ्चालनको तयारीमा छ, श्री सत्य नारायण प्रालि नामक पेट्रोल पम्प ।

नेपाल आयल निगमको मापदण्डअनुसार काठमाडौं उपत्यकामा पेट्रोलपम्प सञ्चालनका लागि कम्तीमा ७५० वर्गमिटर वा एक रोपनी ८ आना जग्गा हुनुपर्नेछ । सडक र पम्पको दूरी २० मिटर हुनुपर्नेछ भने एक दशमलव २० मिटर अग्लो पर्खाल लगाउनु पर्नेछ । तर यो पेट्रोलपम्पले निगमको मापदण्डविपरीत सञ्चालनको तयारीमा छ ।

यो पेट्रोल पम्पसँगै छ, पुरानो सिद्धार्थ वनस्थली कलेज र स्थानीयको निजी निवास ।

शिक्षण संस्था, निजी घर आसपास र औद्योगिक क्षेत्रभित्र करिव डेढ वर्षदेखि निर्माणाधीन यो पेट्रोलपम्प पनि बालाजु क्षेत्रको अर्को ‘बम’ ठान्छन्, स्थानीय । त्यसकारण यसलाई सञ्चालन गर्न नदिन स्थानीयको चर्को माग छ ।

बेष्ट बालाजु क्लबका अध्यक्ष अधिकारी पर्खाल लगाएर पेट्रोल पम्प सञ्चालन गर्नुपर्नेमा भएको पर्खाल भत्काएर पम्प निर्माण गरिएको दाबी गर्छन् । वडाध्यक्ष रिजाल पनि औद्योगिक क्षेत्रभित्र पेट्रोल पम्प सञ्चालन गर्न दिनै नहुने तर्क राख्छन् । उनी भन्छन्, ‘मुख्य कुरा त यस्तो घनाबस्तीबीच पेट्रोलपम्प खोल्न पाइन्छ कि पाइँदैन भन्ने हो, स्वीकृति कसले दियो ?’ पेट्रोल पम्प सञ्चालन रोक्नका लागि आफूहरूले पहल गर्दागर्दै पनि जबरजस्ती गर्न खोजेको भन्दै उनले भने, ‘हामीले यसलाई रोक्न पत्र काट्यौँ तर चक्रपथअन्तर्गत पर्ने, संघीय सरका अन्तर्गत पर्ने भन्दै पेलेर जान खोजेका छन् ।’

बालाजु औद्योगिक क्षेत्र पनि संघीय सरकारअन्तर्गत पर्ने भएकाले स्थानीय सरकारलाई नटेर्ने गरेको वडाध्यक्ष रिजालको तर्क छ ।

औद्योगिक क्षेत्रमा बस्ती बसाल्न नपाइने मापदण्ड चाहिन्छ : व्यवस्थापन कार्यालय

स्थानीयले यस औद्योगिक क्षेत्रलाई हटाउनुपर्ने आवाज उठाइरहँदा बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले भने औद्योगिक क्षेत्रभित्र बस्ती बसाल्न नपाइने मापदण्ड नभएकाले पछिल्लो समस्या सिर्जना भएको बताएको छ ।

कार्यालय प्रमुख भोजराज बिनाडी भन्छन्, ‘त्यतिखेर औद्योगिक क्षेत्र आसपास बस्ती राख्न हुँदैन भनेर मापदण्ड बनाएको भए यस्तो हुँदैनथ्यो’, उनले भने, ‘तर त्यो नहुँदा अहिले औद्योगिक क्षेत्र बस्तीको माझमा पर्न गएको हो ।’ पेट्रोलियम पदार्थ उद्योगका लागि पनि अत्यावश्यक पदार्थ भएकाले यसको सञ्चालनका लागि अनुमति दिइएको उनको भनाइ छ ।

औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपाल ग्याँसले सुरक्षाका सम्पूणर् मापदण्ड पालना गरेको बिनाडीको तर्क छ । औद्योगिक क्षेत्रभित्र २०२८ देखि नेपाल ग्याँस सञ्चालन भइरहेको बताउँदै उनले सम्बन्धित निकायको अनुमतिलगायतका सम्पूणर् कागजात प्राप्त भएपश्चात् मात्रै आफूहरूले जग्गा उपलब्ध गराउने उनले बताए।

उनले औद्योगिक क्षेत्रभित्र यस्ता उद्योग एउटाले मात्रै अनुमति पाउने भन्दै सुरक्षाको विषयमा बेलाबखत अनुगमन गरी निर्देशन दिने गरिएको बताए । यस्ता उद्योगहरू औद्योगिक क्षेत्रको प्राथमिकतामा नपर्ने भएता पनि सूचिमा भने समावेश भएको उनले बताए ।

औद्योगिक क्षेत्रभित्र प्रवेश गरिसकेको उद्योगलाई तत्कालै हटाउन सक्ने अवस्था नरहेको उनको भनाइ छ । ‘एक पटक आइसकेको उद्योगलाई बाहिर कहाँ जाऊ भन्ने त ?, स्वदेशी लगानीकर्तालाई स्थान र लगानीको वातावरण त मिलाउनु पर्‍यो नि’ बिनाडीले भने ।

तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले विसं २०२० जेठ १९ गते उद्घाटन गरेको यस औद्योगिक क्षेत्र अमेरिकी सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त सहयोगमा स्थापना भएको हो ।

पूर्वमा विष्णुमती खोला, पश्चिममा बनस्थली हाइट, उत्तरमा बालाजु बाइसधारा र दक्षिणमा बनस्थली क्षेत्रभित्र रहेको यस औद्योगिक क्षेत्र ६७० रोपनी क्षेत्रफलमा फैलिएको छ । विसं २०४५ श्रावण १ देखि नेपाल सरकारको स्वामित्वमा रहेको यस औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडबाट सञ्चालन हुँदै आएको छ ।

यस औद्योगिक क्षेत्रभित्र १४० वटा उद्योगहरू रहेकोमा १३० वटा मात्रै सञ्चालनमा छन् । अहिले ६ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् भने ४ वटा बन्द अवस्थामा छन् ।

यस औद्योगिक क्षेत्रमा अतिप्रज्वलनशील नेपाल ग्याँस र हानिकारक मोबिल उद्योग मात्रै होइन झण्डै तीन दर्जन प्लास्टिकजन्य उद्योगहरू सञ्चालनमा छन् । यसले सिंगो बस्ती र सहरलाई नै जोखिमा पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?