गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई सवारी साधन हस्तान्तरण

लोकपथ
525
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि उपलब्ध गराइएका सवारी साधनहरु हस्तान्तरण गरेको छ ।

आज गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीलाई एक कार्यक्रमका बीच सवारी साधनहरु हस्तान्तरण गरेका छन् ।

प्रदेशअन्तर्गतका प्रहरी कार्यालयहरुलाई सवारी साधन तथा अन्य भौतिक स्रोत साधनहरुमा आत्मनिर्भर बनाई छिटो छरितो एवं प्रभावकारी प्रहरी सेवा प्रवाहमा सहजता प्रदान प्रदेश सरकारले प्रदेश प्रहरीलाई टाटा पिकअप भ्यान ४ थान र १ थान बस हस्तान्तरण गरेको हो ।

कार्यक्रमका अवसरमा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले प्रदेश प्रहरी संरचना तथा प्रशासनिक गतिविधि, प्रहरी कार्य तथा शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन तथा कोभिड १९ व्यवस्थापन, अपराध नियन्त्रण तथा अनुसन्धान, भौतिक संरचनाको अवस्था, सुरक्षा चुनौतीहरु साथै प्रदेश सरकारसँगको समन्वय र अपेक्षाका विषयमा प्रस्तुतीकरणमार्फत मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारको सफलता र असफलताको आधार नै शान्ति सुव्यवस्था र सुशासन भएको बताउँदै प्रदेशअन्तर्गत प्रहरीलाई चुुस्तदुुरुस्त, संगठित र सक्षम बनाउन प्रहरीको सबलीकरण अपरिहार्य रहेको र प्रदेश सरकार प्रहरीका समस्या समाधानका लागि दृढ रहेको बताए ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेश कानुन, सञ्‍चार तथा प्रदेशसभा मामिला मन्त्रालयका सचिव केदारनाथ शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?