प्रविण ढुङ्गेल । हातमा घडी नभएका जनताले समय थाहा पाउने, घण्टाघरको नामसँगै रानीपोखरी र धरहराको नाम सम्झनामा आउने घण्टाघर अहिलेको पुस्ताले लगभग बिर्सँदै गएको एक धरोहर हो ।
घण्टाघर यस्तो सम्पदा हो जसको महत्व र गाथा अहिलेका पुस्ताले भुलिसकेका छन् । कुनै समय यही घण्टाघरले राजधानीवासीलाई समयको जानकारी दिने मात्रै होइन, दैनिकी पनि निर्धारण गर्नेगरेको थियो । कुनैबेला समय चिनाउने यो धरोहर अहिले आफैँ समय चिन्न सकिरहेको छैन । कतै कसैको सम्झनामा आउँदैन । राजधानीको शान र मान बढाउँदै अनवरत उभिएको यस सम्पदा वर्तमानमा आएर अन्तिम सास फेरिरहेझैँ प्रतित हुन्छ ।
लगभग एक सय २७ वर्षको लामो इतिहास बोकेको गौरवशाली घण्टाघर अहिले निकै नै कमजोर बनेको छ । बाहिरी रूपमा हेर्दा रंगरोगनले बलियो नै देखिए पनि भित्री संरचना पूरापूर कमजोर रहेको देखिन्छ । पूरै सहरलाई उठाउने र समय बताउने यो धरोहर अहिले कुन दिन ढल्ने हो, भन्नै नसकिने गरी थला परेको छ । अझ कोभिड महामारीका कारण यसको मर्मतसम्भार र रेखदेख बेलैमा हुन पाएको छैन । कोरोना महामारीका क्रममा केही समय यसमा रहेका घडीले सही समय देखाउन छडेका थिए । तर, कोरोना बन्दाबन्दी सकिएसँगै यसले मर्मतपछि समय देखाउन भने थालेको छ ।
धेरैलाई थाहा नहुन सक्छ, राणाकालको चिनो घण्टाघरको रेखदेखको जिम्मा लिने व्यक्ति त्रिचन्द्र क्याम्पसका कर्मचारी गणेश सापकोटा हुन् । उनले यस सम्पदाको अभिभावकत्व ग्रहण गर्नथालेको दशकौँ बितिसक्यो । उमेरले ६० पुगेका यिनले काम थालेको विसं २०४४ सालदेखि हो र अझै पनि गरिरहेकै छन् ।
हरेक तह र तप्काका व्यक्तिहरूलाई समय अवगत गराउने घण्टाघर अहिले चुपचाप छ, आवाजविहीन, अन्जान अनि बेपरवाह । जेनतेन त्रिचन्द्र क्याम्पस र सापकोटाको प्रयासमा आयु लम्बिँदै आएको यस सम्पदाको भविष्य सापकोटाको अवकाशपछि अन्यौलमा छ । सापकोटाको अवकाश सन् २०२३ मा हुनेछ । तर अहिलेसम्म उनको अवकाशपछि रेखदेखको जिम्मेवारी वहन कसले गर्ने टुंगो छैन ।
स्मार्टफोन, हातेघडी र स्मार्टघडीको जमानामा घण्टाघरको अवमूल्यन त भएकै छ, साथै वर्तमान पिँढीलाई यसको इतिहासबारे त्यति जानकारी नै छैन ।
घण्टाघरको सुई मिलाउन दुई सातामा एक पटक सापकोटालाई सहयोगी चाहिन्छ । यसको व्यवस्था त्रिचन्द्र क्याम्पसले मिलाइदिएको छ । उनलाई यस काममा आलोपालो सहयोग गर्ने जिम्मा पाएका सहयोगीहरू नातीबाबु थापा, बाबुराम लामिछाने, भिम केसी, मानबहादुर बुढाथोकी हुन् ।
घण्टाघरको घडी राणा प्रधानमन्त्री वीर शमशेरले बेलायतबाट मगाएका थिए । प्रमाणका रूपमा घडीको तलतिर पहेँलो पृष्ठ रहेको छ । भूमिमा वीर शमशेरको नाम कुँदिएको छ । रोचक कुरो त यो छ कि मुख्य तस्बिर शमशेरले आफ्न ४ छोराहरूका निजी निवासमा राख्नका लागि चारवटा ठूला घडी मगाएका थिए । तर, संयोजन नमिलाई चलाउन नसक्ने भएपछि ती घडीहरूका साटो आफ्नै निवासमा वीर शमशेरले युरोपेली शैलीमा नयाँ घडीको लागि टावर बनाएको जानकारी छ ।
इतिहास अध्येता सुदर्शनराज तिवारी मौलिक घण्टाघरको डिजाइन गर्ने व्यक्तिका रूपमा जोगवीर स्थापितलाई चिनाउँछन् । उनका अनुसार वीर शमशेरका पालामा स्थापितले थुप्रै डिजाइन कार्य गरेकाले श्रेय उनलाई जान्छ ।
सापकोटाका अनुसार घण्टाघर उनको अवकाशपछि संग्रहालयमा राख्न सकिनेछ, किनकि उनको स्थानमा आउन न कोही अनुभवी व्यक्ति छन् न कसैको रुचि छ, न त सरकारको नै कुनै ठोस योजना । अतः पार्टपुर्जा धेरै पुराना भएका र बजारमा उक्त पार्टपुजा पाउन पनि अत्यन्तै कठिन भएकाले मर्मतकार्य गर्न त्यति सम्भव छैन ।

सन् १८९४ सालमा निर्माण भएको मौलिक घण्टाघर सन् १९३४ को भूकम्पले भत्काएपछि अहिलेको संरचनामा नयाँ घण्टाघर बनाइएको हो । अर्का राणा प्रधानमन्त्री जुद्ध शमशेरको पालोमा वर्तमान घण्टाघर पुनर्निर्माण भएको थियो । भूकम्पका बेला अन्य भौतिक क्षति बेहोर्नुपरेको भए पनि इन्जिनलाई भने केही भएको थिएन । त्यसैगरी सन् २०१५ को भूकम्पमा नि खासै धक्का पुगेन घण्टाघरलाई, कतैकतै चर्कियो मात्रै ।
यस घण्टाघरको अर्काे रोचक पक्ष भनेको यसका तीन सुई हुन्, जसको तौल क्रमशः ३९० किलो, २७० किलो र ९० किलो (क्रमशः सेकन्ड, घण्टा र मिनेट दर्साउने सुइ) छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?












प्रतिक्रिया