काठमाडौं । सार्वजनिक यातायातमा तपाई सवार हुनुहुन्छ र तोकिए भन्दा धेरै भाडा लिएर ठगिनु भएको त छैन ? यदि यस्तो भएको खण्डमा तुरुन्त प्रहरीलाई खवर गर्नुस् । तुरुन्तै कारवाही हुन्छ । हिजो मात्रै तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बढि भाडा असुल्ने सवारीहरुलाई यातायात नियमानुसार कारवाही गरिएको हो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० सम्म कारवाही भइरहेको छ ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो ।
साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारवाही गर्न सक्रिय भएको स्रोतले बताएको छ । महाशाखाले शुक्रवारदेखि शनिवार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कारवाही गरेको थियो । शनिवारदेखि आइतवार दिउँसो ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारवाही गरिएको हो ।
एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा पाँच हजार जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारवाही गरिने तयारी भएको स्रोतले जनाएको छ ।
शुक्रवार कारवाही गरिएपछि शनिवारदेखि बढी भाडा लिने क्रम घट्दै गएको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया