कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार उमादेवी वादीलाई

लोकपथ
56
Shares

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

हाल सुदुरपश्चिम प्रदेश सभा सांसद रहेकी वादीले मानव अधिकार÷सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०७८ मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु। १ लाख १० हजार पुरस्कार राशी र सम्मानपत्रसहित वादीलाई पुरस्कृत गरिने छ ।

२०१८ साल फागुन ४ गते जन्मिनुभएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो ।

विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आउनुभएकी उमादेवी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सुचिमा १० औँ स्थानमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?