राजदूत बेरीले भने- ‘अमेरिकाले राजनीतिक लाभका लागि खोपको व्यापार गर्दैन’

लोकपथ
49
Shares

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले राजनीतिक लाभका लागि अमेरिकाले खोपको व्यापार नगर्ने प्रस्ट पारेका छन् ।

सोमबार अमेरिकाबाट कोभ्याक्समार्फत जोन्सन एन्ड जोन्सन खोपको १५ लाख ३४ हजार ८५० मात्रासहितको डेलिभरी नेपाल आइपुगेको सन्दर्भमा उनले ट्वीटरमार्फत भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

‘म स्पष्ट पार्न चाहन्छु, यो अमेरिकी जनताको तर्फबाट निःशुल्क उपहार हो । राजनीतिक लाभका लागि हामी खोपको व्यापार गर्ने छैनौं,’ उनले भनेका छन्, ‘यो जीवनरक्षासँग जोडिएको विषय हो ।’

कोभिड–१९ विरुद्धको पूर्ण खोपका लागि जोन्सन एन्ड जोन्सनको एउटैमात्रा लगाए पुग्ने पनि उनले प्रस्ट पारेका छन् । कोभ्याक्समार्फत आज अमेरिकाबाट प्रारम्भिक अनुदान सहयोगस्वरुप प्राप्त यो खोप नेपालका १५ लाखभन्दा बढी मानिसहरुको सुरक्षाका निम्ति पर्याप्त रहेको उनले जनाएका छन् । ‘यो नेपालको जनसंख्याको लगभग ५ प्रतिशत हो,’ उनले भनेका छन्, ‘झण्डै ७५ वर्षदेखि अमेरिका नेपालको सबैभन्दा नजिकको साझेदार रहँदै आएको छ । इतिहासकै यस पृथक चुनौतीको घडीमा आज हाम्रो साझेदारी सदाभन्दा झन् महत्वपूर्ण बनेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?