ब्राजिलमा कोरोनाबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु

लोकपथ
56
Shares

काठमाडौं । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । बिहीवार अघिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट दुई हजार २९ जनाको निधन भएको सो समाचारमा जनाइएको हो ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलवार सम्ममा ५ लाख २० हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।

त्यसैगरी बिहीवार मात्र २४ घन्टामा यहाँ ६५ हजार जना भन्दा बढी सङ्क्रमित भेटिएका पनि बताइएको छ । अघिल्लो दिनको भन्दा बढी संक्रमित बिहीवार भेटिएका हुन् ।यहाँ अहिलेसम्ममा १ करोड ८६ लाख ५४ हजारभन्दा बढी नागरिक संक्रमित भएका पनि बताइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा ब्राजिल पछिल्लो समयमा संक्रमित हुनेको संख्या बढेको पाइएको छ ।

त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ ।

ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो संक्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस संङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?